युट्युब संसारको सबैभन्दा छिटो बढिरहेको प्लेटफर्म हो। अहिले आम्दानी गर्ने आकर्षक विकल्पका रुपमा युट्युवलाई लिने गरिन्छ। पेव्दिएपिए जस्ता युट्युब ताराहरूले प्लेटफर्ममा वर्षमा लाखौं डलर कमाउँछन्। नेपालमा पनि धेरै युट्युव च्यानल छन्, जसले महिनामै लाखौं कमाइरहेका छन् । यो सुन्दा तपाईंलाई पनि यसबाट पैसा कमाउने इच्छा जागेको होला ।
सृजनात्मक कन्टेन्ट दिन सकियो भने युट्युव आम्दानीको एक राम्रो स्रोत बन्न सक्छ। यसका लागि तपाईंसँग युट्युव च्यानल हुन आवश्यक छ र आफ्नो जिमेलबाट तपाईंले सजिलै युट्युव साइन ईन गरेर आफ्नो युट्युब च्यानल बनाउन सक्नुहुन्छ । त्यस च्यानलमा तपाईंले आफैंले बनाएका भिडिओ कन्टेन्ट राख्न सक्नुहुन्छ ।
युट्युवरहरुलाई , दर्शकहरुले रुचाउने किसिमको भिडिओ राख्न भने एकदमै ठूलो चुनौती रहेको छ। समय र दर्शकको मागअनुसार आफ्नो भिडिओको गुणस्तर नघटाई नियमित रुपमा गतिलो कन्टेन्ट अपलोड गर्न सकेमात्र तपाईंले राम्रो आम्दानी गर्न सक्नु हुनेछ ।
तपाईंको भिडिओमा हुने नियमित इंगेजमेन्टलाई मध्यनजर गरेर युट्युवले तपाईंको च्यानल मनिटाइज गर्छ र च्यानल मनिटाइज गर्नका लागि युट्युवले निश्चित केहि नियम तय गरेको छ । च्यानल मनिटाइज गर्नका लागि कम्तिमा पनि तपाईंको युट्युव च्यानलमा एक हजार सब्स्क्राइबर र दस हजार भ्युजका साथै एक वर्षभित्र चार हजार घण्टा तपाईंको भिडिओ हेरिएको हुनुपर्ने छ।
यी सबै कुरा नीतिभित्र रहेर पुरा भएको छ भने मात्र तपाईं युट्युव पार्टनर बन्न योग्य ठहरिनु हुन्छ । त्यसपछि तपाईंले युट्युव पार्टनर प्रोग्राममा आवेदन दिन सक्नुहुन्छ। आवेदन दिँदा च्यानल लोकेसनमा युट्युव पार्टनर प्रोग्राम हुने उपयुक्त देश छानेर विज्ञापन आएर मनिटाइज भएको भिडिओबाट कमाउन युट्युव च्यानललाई एडसेन्स अकाउन्टसँग कनेक्ट गराउनुपर्छ ।
एडसेन्स अकाउन्टसँग लिंक गराएर आफूले कमाएको पैसा वेस्टर्न युनियन वा सिधै बैंक ट्रान्सफरबाट लिने हो, यस्ता कुरा छनोट गर्नुपर्ने हुन्छ । हरेक महिनाको १० देखि १५ तारिखसम्म आफ्नो अकाउन्टमा कति पैसा जम्मा भयो हेर्न मिल्ने छ तर तपाइको अकाउन्टमा १००डलर नपुग्दासम्म पैसा निकाल्न भने पाइने छैन । भिडिओमा निरन्तरता दिनु पनि एक ठूलो चुनौती रहेको छ। अश्लील र अनावश्यक भिडिओ बनाएर दर्शकहरुलाई आफू तिर तान्न खोज्ने पनि धेरै हुन्छन् तर यस्ता भिडिओले भने निरन्तरता पाउन सकेका छैनन्।