निजामती कर्मचारीमा कोरोना सङ्क्रमण तीव्र बन्दै गएपछि कर्मचारीहरूले अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्न सरकारलाई सुझाव दिएका छन् । अनलाइन माध्यमबाट सेवा प्रवाह गर्न सकिने सबै सेवा अनलाइन प्रणालीबाटै प्रवाह गर्नुपर्ने कर्मचारीहरूले बताएका छन् ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अनुसार तीनै तहका गरी करिब डेढ लाख कर्मचारीमध्ये ३० प्रतिशत कर्मचारीलाई कोरोना सङ्क्रमण भएको अनुमान गरिएसंगै उक्त ट्रेड युनियनका महासचिव तेजकुमार केसीले सङ्क्रमण तीव्र बन्दै गए अधिकांश कर्मचारीमा कोरोना सङ्क्रमण हुने बताएका छन् । उनले व्यक्तिको स्वास्थ्यभन्दा काम ठूलो होइन तेसैले “वोर्क फ्रोम होम ” गर्न कर्मचारीलाई सुझाब दिएका छन् ।’
अहिले बढी भीडभाड हुने सबैजसो जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, मालपोत, राहदानी विभागलगायतका कार्यालयमा भने आलोपालो प्रणालीबाट सेवा प्रवाह भइरहेका छन् । गत वर्ष वैशाख र जेठमा कोरोना सङ्क्रमण दर उच्च तहमा पुगेपछि घरबाटै अनलाइन सेवा प्रवाह गरेको थियो ।
नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले पनि अहिलेको प्रविधिअनुसार अनलाइनबाटै सेवा प्रवाह गर्नुपर्ने बताउँछन् । सरकारले वैकल्पिक व्यवस्था अपनाएर अनलाइनकै माध्यमबाट काम गर्ने व्यवस्था गर्नुपर्ने र जीवन रक्षाका लागि पनि यही विधि उत्तम हुने उनकाे भनाइ छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रवीन्द्रजङ्ग थापाले सम्भव भएका सबैजसो कार्यालयमा अनलाइन सेवा र कागजविहीन प्रणाली सुरु गर्नुपर्ने बताएका छन् ।
अहिले पनि कोभिड सङ्क्रमण दर ५० प्रतिशतभन्दा बढी भएकाले अनलाइनबाट सेवा प्रवाह गर्न सकिने सबै काम अनलाइनबाटै गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।