१४ साउन, काठमाडाैँ। एनआईसी एशिया बैंकले मेसिनमार्फत क्यास डिपोजिट सेवाको सुरूवात गरेको छ। बैंकले शुक्रबारदेखि मेसिनबाट नै आफ्नो वा अन्यको खातामा रकम जम्मा गर्न सकिने मेसिन ल्याएको हो।
अब यस बैंकका ग्राहकले आफ्नो खातामा रकम जम्मा गर्न जाँदा लामो सयमसम्म लाइन बस्नु पर्ने झन्झटबाट मुक्ति पाउनेछन्।
यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहक महानुभावहरूले केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ । यस मेसिनबाट एक हजार र पाँच सय दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ। त्यस्तै, एक पटकमा एक ग्राहकले ९९ हजार ५ सय जम्मा गर्न सक्नेछ।
एक दिनमा एक जनाले ९ लाख ९९ हजार ५०० नगद खातामा जम्मा गर्न सक्ने बताइएको छ।
यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि सेवाग्राहीले उक्त मेसिनमा रकम जम्म गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा OTP प्राप्त गर्ने र उक्त OTP मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुने जानकारी दिइएको छ ।
बैंकले यो सेवा हालका लागि आफ्नो न्यूरोड बिशालबजार शाखामा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाइरहेको छ।