© 2021-2024
काठमाडौं। सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ।
बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । त्यसको केही बेरपछि नै बिहीवार साँझदेखि टिकटक चल्न थालेको हो । सरकारका प्रवक्तासमेत रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले राखेको सर्त पूरा गरेपछि मात्र प्रतिबन्ध हटेको निर्णय कार्यान्वयन हुने बताएका छन् ।
मन्त्री गुरुङका अनुसार अब टिकटकमात्र नभई सबै सामाजिक सञ्जालले सामाजिक सद्भाव भड्काउने गरी कुनै पनि पोष्ट र सामाग्री प्रसार गर्न पाउने छैनन् । ‘सरकारले जारी गरेको जुन निर्देशिका छ, त्यसमा उल्लेखित नियम सबै सामाजिक सञ्जालले मान्नुपर्छ । कुनै पनि सामाजिक सञ्जालले समाजलाई असर पर्ने गरी कार्य गर्न पाउँदैनन्,’ उनले भने ।
उनका अनुसार ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०’ अनुसार टिकटकले सर्तहरू पूरा गर्नुपर्नेछ । जसमा यो एप्स सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुनुपर्छ । यति मात्र होइन, प्वाइन्ट अफ कन्ट्र्याक्ट पनि तोक्नुपर्छ ।
सरकारले राखेको अर्को सर्त हो फिल्टिरिङ । मन्त्री गुरुङले भने, ‘जे कारणले टिकटक बन्द गरिएको हो, त्यस्तो परिस्थिति कुनै पनि नआउने गरी फिल्टिरिङ हुनुपर्छ ।’ तत्कालीन प्रचण्ड सरकारले टिकटकबाट सामाजिक मर्यादा उल्लंघन भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।
अब सरकारले यस्तो नहुने अवस्थाको सुरक्षा टिकटक कम्पनीबाट खोजेको छ । साथै सरकारले सुरक्षाको विषय पनि सर्तमा राखेको छ । नेपालको पर्यटन प्रवर्द्धन गर्नुपर्ने, डिजिटल साक्षरताका लागि सहयोग गर्नुपर्ने लगायतका सर्तहरू छन् । टिकटक कम्पनीले नेपाल सरकारका यी सर्तहरूमा सहमति जनाई सम्झौता गरेपछि टिकटकमाथि प्रतिबन्ध हटेको विषय कार्यान्वयनमा जानेछ । यसपछि मात्र मोबाइलमा टिकटक खुल्नेछ ।