क्रिप्टोकरेन्सी र बिटकोइनको कुरा गर्दा ब्लकचेनको कुरा नआउने त हुँदै हुँदैन तर धेरैलाई ब्लकचेनको बारेमा मजाले ज्ञान हुँदैन या त सिक्न खोजे पनि एकदम अफ्ठेरो लाग्न सक्छ। आखिर के हो त ब्लकचेन? अनि किन यो डिजिटल मुद्राहरू बिच यति चर्चामा छ त?
ब्लकचेन एउटा लेजर जस्तै हो जसले डिजिटल ढाँचामा इलेकट्रोनिक रूपमा जानकारी राख्छ। हामीले कुनै पनि लेनदेन गर्दा कुनै तेस्रो पक्षीयसँग गर्छौ, जसले हामीलाई सुरक्षा र भरोसा दिएको हुन्छ, तर ब्लकचेनले विश्वसनीय तेस्रो पक्षको आवश्यकता बिना विश्वास उत्पन्न गरेर हाम्रो कारोबार सञ्चालन गर्छ।
ब्लकचेनले लेनदेनको सुरक्षित र वि-केन्द्रीकृत रेकर्ड कायम राख्न मद्दत गर्दछ।
ब्लकचेन विकेन्द्रीकरण
ब्लकचेनले एउटा डाटाबेसमा राखिएका डेटाहरूलाई विभिन्न स्थानहरूमा विभिन्न सञ्जाल नोडहरूमा फैलाउँछ। यसले गर्दा यदि कुनै ब्लकमा फेरबदल भएको भए तापनि अरू नोडमा भएको सुरुको सक्कल कारोबारको ब्लक भेटिन्छ। ह्याकरले एउटा नोडको ब्लकको डाटा परिवर्तन गर्न खोजे पनि अन्य थुप्रै नोडमा भएका डाटा फेर्न नसक्ने हुँदा यो तरिकाबाट हाम्रो डाटा एकदम सुरक्षित हुन्छ।
ब्लकचेन कसरी काम गर्छ त?
ब्लकचेनले ब्लकहरूमा डेटा भण्डारण गर्दछ जुन त्यसपछि क्रिप्टोग्राफी मार्फत सँगै जोडिन्छ। यसरी सबै ब्लक एउटै साँचोमा जोडिए जस्तै हो, जसमा हरेक नयाँ कारोबार ब्लकहरूको अन्तिममा गएर जोडिँदै जान्छ। हरेक ब्लकको एउटा आफ्नो छुट्टै कोड वा नम्बर हुन्छ जसलाई ह्यास (Hash) भनिन्छ। ह्यासमा लेनदेन गरेका व्यक्तिको जानकारी हुन्छ। त्यसका साथै लेनदेन गरेको व्यक्तिको पहिलाको लेनदेन गर्दा बनेको ब्लकको ह्यास पनि हुन्छ। यसरी हरेक ब्लकको ह्यासले पहिले भएका लेनदेनको ह्यासको जानकारी दिन्छ र सबै ब्लकलाई एकै ठाउँमा जोडिन जान्छ।
ह्यासभित्र रहने जानकारी:
- लेनदेन गर्ने व्यक्तिहरूको जानकारी
- योभन्दा पहिले कारोबार गर्दा बनेको पहिलेको ब्लकको ह्यास
यस्तो प्रक्रिया एकदम सुरक्षित मानिन्छ किनकि यदि कुनै ह्याकरले कुनै एउटा ब्लकमा फेरबदल गर्न खोज्यो भने त्यो ब्लकको ह्यास नै परिवर्तन हुन्छ। यसले गर्दा त्यो ब्लकमा फेरबदल भएको बुझ्न सकिन्छ। यदि एक प्रयोगकर्ताले बिटकोइनको लेनदेनको रेकर्डसँग छेड छाम गरेमा, अन्य सबै नोडहरूले एक अर्कालाई क्रस-रेफर गर्नेछन् र गलत जानकारीसँग नोडलाई सजिलै पत्ता लगाउनेछन्।