बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शैक्षिक निकायमा हुने मनपरी शुल्क बन्द गर्ने बताउनुभएको छ । आज राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षा क्षेत्रमा मनपरी शुल्क भएकाले अब प्रदेश सरकार आफैँले शुल्क निर्धारण गर्न लागेको बताउनुभयो । पढेपछि ऋण तिर्न विदेश जानुपर्ने बाध्यता धेरै विद्यार्थीको समस्या रहेकाले अब शिक्षा क्षेत्रको बृहत्तर विकासका लागि प्रदेश सरकार लागिपर्ने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले शिक्षा व्यापार नभई सेवाको भावनाले सञ्चालन हुनुपर्ने आफूहरुको जोड रहेको बताउनुभयो । बागमती प्रदेश सरकार शिक्षा नीति ल्याउने तयारीमा रहेको भन्दै उहाँले यसका लागि नीतिगत सुझावको अपेक्षामा रहेको बताउनुभयो । बागमती प्रदेशमा शिक्षा क्षेत्रमा उल्लेख्य काम भए पनि धेरै कुराहरुको अभाव रहेको मुख्यमन्त्री जम्कट्टेलले स्वीकार्नुभयो । “मलाई थाहा छ शिक्षा क्षेत्रमा समस्या धेरै छन्, पाठयक्रमका समस्यादेखि शिक्षामा देखिएको अन्तरविरोध भनि साध्य छैन,” उहाँले भन्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले विशेषतः स्वास्थ्य क्षेत्र र प्राविधिक क्षेत्रको शिक्षा निकै महँगो हुँदै गएकोप्रति आफूले नजिकबाट बुझेको र यसलाई छिटै समाधानतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा २०७९ सालमा बागमती प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा उच्च जिपिए ल्याउने सामुदायिक र संस्थागत विद्यालयलाई प्रोत्सान गर्न नगदसहित सम्मान तथा पुरस्कृत गरिएको थियो । जसअनुसार सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढी जिपिए ल्याई प्रथम हुन सफल मेघा मावि भक्तपुर नगरपालिकालाई नगद रु एक लाखसहित सम्मान गरिएको थियो । यस्तै दोस्रो हुन सफल पृथ्वी मावि विदुर नुवाकोटलाई नगद रु ८० हजार, तृतीय हुन सफल श्रम राष्ट्रिय मावि काठमाडौँलाई रु ६० हजार, चौथो हुन सफल पृथ्वीनारायण मावि तारकेश्वर काठमाडौँलाई रु ४० हजार र पाँचौँ हुन सफल बलम्बु मावि चन्द्रगिरि नगरपालिका काठमाडौँलाई रु ३० हजारसहित सम्मान गरिएको थियो ।
यस्तै संस्थागत विद्यालयतर्फ सबैभन्दा बढी जिपिए ल्याई प्रथम हुन सफल रिलायन्स इन्टरनेसनल एकेडेमी, बूढानीलकण्ठ नगरपालिकालाई नगद रु एक लाख, द्वितीय हुन सफल हिज किड्स इन्टरनेशनल स्कुल, काठमाडौँ महानगरपालिकालाई रु ८० हजार र तृतीय हुन सफल फ्लोरोसेन्ट माध्यमिक विद्यालय, टोखा नगरपालिकालाई रु ६० हजारसहित सम्मान गरिएको थियो ।विसं २०७९ को माध्यमिक शिक्षा परीक्षामा बागमती प्रदेशबाट एक हजार तीन सय ६२ सामुदायिक विद्यालय र एक हजार पाँच सय ४८ संस्थागत विद्यालय गरी जम्मा दुई हजार नौ सय १० विद्यालयको सहभागिता थियो । सामाजिक विकासमन्त्री कुमारी मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिव डा भीष्मकुमार भुसाल, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिलगायतको सहभागिता थियो |



 
                        
                        
 
                                     
																							 
																							 
																							 
																							 
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                        