© 2021-2024
काठमाडौं। एलन मस्कले पूर्व अमेरिकी राष्ट्रपति र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई सोशल मिडिया प्लेटफर्म एक्समा अन्तर्वार्ता लिएका छन्। यस अन्तर्वार्तामा अहिलेसम्म मस्क र ट्रम्पले धेरै विषयमा कुरा गरेका छन् ।
अमेरिकी व्यवसायी एलन मस्कले मंगलबार एक्स (पहिलाको ट्विटर) मा अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको अन्तर्वार्ता लिए । अडियो फर्म्याटमा भएको कुराकानी २ घण्टा ६ मिनेट चल्यो । सबैभन्दा पहिला मस्कले पेन्सिल्भेनियामा ट्रम्पमाथि भएको आक्रमणबारे सोधे । ट्रम्पले हाँस्दै जवाफ दिए, ‘यो अनुभव निकै खराब थियो । त्यसपछि मलाई भगवानप्रति विश्वास हुन थालेको छ ।’
एक्समा रहेको सो स्पेसमा जोइन हुन खोज्दा ‘द स्पेस इज नट अभाइलेभल’ भन्ने मेसेज देखिएको थियो । प्रतिबन्धपछि ट्रम्पलाई एक्समा फिर्ता ल्याउने र उनको चुनावी अभियानलाई पनि सहयोग पुर्याउने उद्देश्यले अन्तर्वार्ता गरिएको थियो । साइबर आक्रमण भएको झन्डै ४२ मिनेटपछि अन्तर्वार्ता सुरु भएको बताइएको छ ।
मङ्गलबार मस्कले एक्समा पोस्ट राख्दै डीडोस आक्रमण भएको उल्लेख गरेका छन् । डीडोस आक्रमणकै कारण एक्सको स्पेस क्रयाश भएको उनको भनाइ छ ।
यसअघि उक्त प्लेटफर्ममा एउटा स्पेसमा ८० लाख स्रोता हुने गरी परीक्षण गरेको मस्कले बताएका छन् ।डीडोस आक्रमण भन्नाले कुनै पनि प्लेटफर्ममा बट अकाउन्टको बाढी लगाई ट्राफिक बढी बनाएर सेवा अवरुद्ध पार्ने गतिविधि हो । ट्रम्पको विपक्षमा हुने व्यक्तिले यस्तो आक्रमण गरेको हुन सक्ने मस्कको आशङ्का छ ।
यसअघि मे २०२३ मा पनि अस्वाभाविक ट्राफिक आएपछि एक्सको स्पेस डाउन भएको थियो । त्यतिबेला भेन्चर क्यापिटालिस्ट डेभिड स्याक्स र मस्कबीच अन्तर्वार्ता भएको थियो ।सन् २०२१ मा ट्रम्पलाई एक्ससहितका प्रमुख सामाजिक सञ्जालले प्रतिबन्ध लगाएका थिए । एक्सको स्वामित्व एलन मस्कले लिएपछि उनले ट्रम्पमाथि लागेको प्रतिबन्ध खुलाएका थिए ।
ट्रम्पले चाहिँ आफूलाई उदार लोकतन्त्रवादी नेता भएको दाबी गरे । साथै लिबरल डेमोक्रेट विचारधारामा विश्वास गर्नेहरूलाई आफ्नो समर्थन गर्न आव्हान पनि गरे ।