© 2021-2024
काठमाडौँ । सामसङले ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब सिरिजमा सर्कल टु सर्च सुविधा उपलब्ध गराएको छ । सामसङले ग्यालेक्सी इकोसिस्टममा अझ धेरै डिभाइसहरूमा मोबाइल सुविधालाई अगाडि बढाउँदै ग्यालेक्सी ए सिरिजका लागि गुगलमा सर्कल टु सर्चको उपलब्धताको घोषणा गरेको हो ।
सर्कल टु सर्च भनेको एपहरू स्वीच नगरिकन सामान्य रूपमा कुनै पनि कुरा खोज्ने नयाँ तरिका हो । डिभाइसमा जब सर्कल टु सर्च इनएबल गरिन्छ, प्रयोगकर्ताले सर्च गर्न चाहेको टेक्स्ट, इमेज वा भिडियो स्क्रिनबाट सहजै छनोट गर्न सकिन्छ । यो सुविधा गुगलसँगको दिगो सहकार्यको परिणाम भएकोले कम्पनीको खुलापन र सहकार्य प्रतिको लामो समयदेखिको प्रतिबद्धतालाई सार्थक बनाउने विश्वास व्यक्त गरेको छ ।
यो विस्तारले सकेसम्म धेरै प्रयोगकर्ताहरूलाइ उत्कृष्र्ट मोबाइल प्रविधि उपलब्ध गराउने सामसङ र गुगलको निरन्तर समर्पणलाई जोड दिएको कम्पनीको दाबी छ। ग्यालेक्सी ट्याब एस९ एफईमा पनि यो सुविधा पाइनेछ।
ग्यालेक्सी एस२४ सिरिज सुरु भएपछि सर्कल टु सर्च चाँडै प्रशंसकको मनपर्ने भएको र यसले परम्परागत खोज्ने विधिहरूभन्दा बाहिर गएर बेग्लै अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
पछिल्लो ग्यालेक्सी जेड फ्लिप६ र जेड बोल्ड६ लगायत थप ग्यालेक्सी उपकरणहरूमा विस्तार हुँदै गएपछि सर्कल टु सर्चले पूरै पानाको अनुवाद, गृहकार्यमा मद्दत र क्यूआर र बारकोड स्क्यानिङ क्षमताहरू थप्ने सहित यसको उपयोगिता र सहजता बढाउन निरन्तर विकसित भएको छ ।
ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजका साथै सामसङका अन्य प्रोडक्टहरूमा पनि सर्कल टु सर्चबाट प्रयोगकर्ताहरूले थप जटिल प्रश्नहरूको उत्तर खोजी गर्न सक्नेछन् ।
सामसङ इलेक्ट्रोनिक्सका प्रमुख टीएम रोहले नयाँ अपडेटले ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजमा नयाँ सम्भावनाहरू उजागर गरेको र अत्याधुनिक प्रविधि उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई सुदृढ पारेको बताए ।