भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् ।
बोर्डका अनुसार उच्च जीपीए अर्थात् ३.६० देखि ४.०० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३ सय ९२ रहेको छ। त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ८० हजार ३ सय ७२ जना रहेका छन्। यसैगरी २.८० देखि ३.२० जीपीएस् ९४,२२२ जना ,२।४० देखि २.८० जीपीएस् ५५,९७७ जना, २.०० देखि २.४० जीपीएस् ५,१९० जना ,१.६० देखि २.०० जीपीएस् ७ जना रहेका छन् ।
यस वर्ष गत चैत १९ गतेदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको थियो । यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जना परीक्षामा सहभागी हुन आवेदन दिएका थिए ।
सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरेर नतिजा सार्बजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयले नतिजा हेर्न ‘एसएमएस’ गरेर वा सिधै ‘वेबसाइट’मा गएर एसइईको नजिता हेर्न सकिने व्यवस्था गरेको छ ।
यसरी हेर्न सकिन्छ नतिजा
बोर्डले आज एक सूचना जारी गर्दै एसइईको नतिजा हेर्ने वेबसाइटसहितको सूची सार्वजनिक गरेको छ । जसअनुसार एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने जनाएको छ । विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्टकोडमार्फत नतिजा हेर्न सक्ने कार्यालयले जनाएको छ ।
त्यस्तै, नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र युएसएसडीमार्फत नतिजा हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट (www.see.gov.np), राष्ट्रिय परीक्षा बोर्ड (www.neb.gov.np) र नेपाल टेलिकम (www.see.ntc.net.np)लगायतबाट नतिजा हर्न सकिन्छ ।



