१८ माघ, एजेन्सी। अहिले सबैभन्दा धेरै चर्चामा रहेको एआई- च्याटजिपिटीले मासिक शुल्क सहितको सेवा परीक्षण गर्ने भएको छ। च्याटजिपिटीले पहिलो चरणमा अमेरिकामा शुल्क सहितको सेवा सुरू गर्न लागेको हो।
सुरूवाति चरणमा च्याटजिपिटीको मासिक शुल्क २० अमेरिकी डलर तोकिएको छ। यो शुल्क तिरेपछि प्रयोगकर्ताहरूले व्यस्त समयमा पनि सहज सेवा पाउने बिबिसीमा उल्लेख छ। त्यस्तै, उक्त शुल्क तिर्नेहरूले ‘प्रायोरिटी एक्सेस’ अन्तर्गत नयाँ फिचरहरू र च्याटबट क्रिएटरमा पहुँच पाउने ओपनएआईले जानकारी दिएको छ।
शुल्क सहितको सेवा परीक्षणमा सिमित प्रयोगकर्ताहरूलाई मात्र सामेल गराइने बताइएको छ।
शुल्क सहितको सेवा परीक्षण भएता पनि च्याटजिपिटीको फ्रि भर्सन यथावत् रहने ओपनएआईले प्रष्ट पारेको छ। अहिले मानिसहरूले बिना शुल्क च्याटजिपिटी प्रयोग गरिरहेका छन्।
करीब २ महिना अघि सार्वजनिक भएको च्याटबट अहिले सबैभन्दा धेरै चर्चा भएको एआई हो। कन्टेन्ट क्रिएसनका सबै काम गर्ने भएर यसका प्रयोगकर्ताहरू बढीरहेका छन्। पछिल्लो विवरण अनुसार च्याटजिपिटी प्रयोग गर्ने व्यक्तिहरूको दोश्रो स्थानमा नेपाली रहेको सार्वजनिक भएको थियो।



