विश्वमा करोडौं स्मार्टफोन प्रयोगकर्ताले कल आइडेन्टिफिकेसनका लागि ट्रुकलर एपको प्रयोग गर्ने गरेका छन्। ट्रुकलर व्यावसायिक र व्यक्तिगत आवश्यकताहरू दुवैको लागि सञ्चारको महत्त्वपूर्ण भाग हो। ट्रुकलर एपको सबैभन्दा खास विशेषता भनेको यसले प्रयोगकर्ताको फोनको कन्ट्याक्ट लिष्टमा नभएका व्यक्तिको फोन आउँदासमेत कसको फोन आएको छ भन्ने जानकारी दिने मात्र नभएर फोनको घण्टी बज्नुभन्दा केही पहिले नै कसले फोन गर्दैछ भन्ने बताइदिन्छ।
ट्रुकलरले स्पाम कलहरू नउठाउन वा बेवास्ता गर्नका लागि स्मार्टफोन प्रयोगकर्तालाई सहयोग गर्दछ। ट्रुकलर एप लाखौं प्रयोगकर्ताहरूसँग धेरै लोकप्रिय हुँदैछ र ठगी तथा स्पाम कलहरूबाट स्मार्टफोन प्रयोगकर्तालाई बचाउनका लागि ट्रुकलर एप निकै सहयोगी रहेको छ।
ट्रुकलरमा एक कलर आइडी अलर्ट देखिन्छ जसमा इनकमिङ कल बाइ लेखिएको हुन्छ र कल गर्नेवाला व्यक्तिको नाम समेत देखिन्छ। फोनमा घण्टी बज्नु केही सेकेण्ड पहिले नै नोटिफिकेसन पपअप गर्दछ र त्यसपछि मात्र घण्टी बज्न सुरु गर्दछ। ट्रुकलरले फोन प्रापकको मोबाइल डाटा वा वाइफाइको उपयोग गरेर फोन गर्नेवालाको बारेमा अलर्ट पठाउने काम गर्दछ।
मोबाइल डाटा वा वाइफाइको गति एक नियमित सेलुलर नेटवर्कको तुलनामा तीव्र हुन्छ। त्यसैले वास्तविक कल आउनु भन्दा अगाडि नै फोन आउन थालेको नोटिफिकेसन ट्रुकलर एपमा प्राप्त हुन्छ। यो फिचरलाई प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार हटाउन समेत सक्ने छन् । फोन गर्ने र फोन उठाउने दुवैको स्मार्टफोनमा ट्रुकलर एपको यो फिचर एक्टिभ भएमा पनि यसरी नोटिफिकेसन प्राप्त हुन्छ।