काठमाडौं मोडल अस्पतालमा अब अनलाइनबाट नै अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ । भुक्तानी सेवाप्रदायकहरुले ईसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको यो ई-अपोइन्टमेन्ट प्लेटफर्म हो र यसमा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवा सुरू भएको हो ।
योसँगै अबदेखि काठमाडौँमा उपचार गर्न तथा डक्टरसँगको परामर्शका लागि ईसेवा मोबाइल एप्लिकेशन मार्फत मानिसहरुले अनलाइनबाट नै अपोइन्टमेन्ट लिन सक्ने भएको छन् ।
अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालका बिरामीले घरबाटै अपोइन्टमेन्ट लिनुका साथै भुक्तानी गर्न सकिने भएकाले अस्पतालमा लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । यसका साथै बिरामीहरुको समयको समेत बचत हुने भएको छ ।
अहिलेको कोभिड १९ को महामारीका बेला यो सेवाले गर्दा अझ धेरै सहजता ल्याउने विश्वास गरिएकाे छ भने कोजेन्ट हेल्थ र ईसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ ।
कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड ईएमआरमा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।