एउटै एपमा सबै सरकारी सेवाहरू उपलब्ध गराउने गरी डिजाइन गरिएको नागरिक एपमा नयाँ अपडेट आएको छ । नागरिक एप संस्करण १.४.६ को पछिल्लो अपडेटसँगै विदेशी अध्ययन अनुमति र प्रेस लिङ्क पासका लागि आवेदन दिने सुविधा आएको हो ।
यससँगै अब नागरिकहरुले एपमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको एनओसीका लागि आवेदन दिन सक्ने भएका छन् तर, भुक्तानी सुविधा उपलब्ध हुन केही समय लाग्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालयको विदेश अध्ययन अनुमति शाखाबाट अहिले आवेदन दिएर प्रक्रिया पूरा भएमा नागरिक एपमा सूचना हेर्न सकिने मन्त्रालयले बताएको छ । यति मात्र नभएर , नयाँ अपडेटसँगै सूचना तथा प्रसारण विभागले जारी गरेको प्रेस पासलाई लिंक गर्ने सुविधा समेत थपिएको छ ।
हाल तपाईको विवरणहरू हेर्नको लागि मात्र सुविधा उपलब्द भएको छ तर एपको अर्को अपडेटमा नयाँ प्रेस पास वा एपबाट नवीकरणको लागि आवेदन दिन सम्भव हुने जानकारी आएको छ।