मङ्सिरपछि धेरै बिहे हुने भनेको माग महिनामा हो । नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने विवाह गराइदिने संस्था बिरलै देख्न पाइन्छ । तर बिहेवारी डटकमले विगत चार वर्षदेखि धेरै जोडीको लगनगाँठो बाँधिरहेको छ ।
सन् २०१७ मा कम्पनीका संस्थापक अनन्त पौडेललाई उनका परिवारले बिहेमा जोड दिइरहेका बेला दिनहुँजसो कान्तिपुर दैनिकको पछाडिको पेजमा आउने ‘बिहेवारी’ भन्ने कोलमले उनलाई व्यापारको युक्ति सुझाइदिएको थियो । दैनिक रुपमा आउने गरेका विवाहका प्रस्तावलाई जम्मा गरेर सम्पर्क नम्बरहरू संकलन गर्नुका साथै जोडी मिल्दो लाग्नेहरूलाई भेटाइदिने गर्दथे।
आईटीमा ब्याचलर गरेका अनन्त आफैं वेब होस्टिङ र कोडिङको काम गर्छन् । बिहेवारीको कामलाई नै व्यवसायको रुप दिन सकिन्छ भन्ने छाँट देखेपछि उनले हत्तपत्त अनलाइनमा बिहेवारीको डोमेन हेरेर तत्काल डिजाइन गरे । बिस्तारै देश र विदेशबाट फोन आउन सुरु भयो र काम राम्रो चल्दै गएपछि उनले २०१९ मा बिहेवारीको एप लन्चका साथै संस्था दर्ता पनि गरेका थिए ।
‘असल जीवनसाथी हरपल माथिमाथि’ भन्ने उनको अवधारणाले अन्ततः व्यसायको रुप लियो । उनले पाँच जना मनिसलाई रोजगारी समेत दिएका छन् ।सुरुवाती दिनमा नै जापान र अष्ट्रेलियाबाट विवाहका लागि जोडी खोज्न कल आउने गरेको थियो । बिहेवारी डटकममा जोडिन चाहने सेवाग्राहीले कम्पनीको वेबसाइट, एप र फेसबुक पेजमार्फत फारम दर्ता गर्न सक्छन् । साथै कम्पनीको कार्यालयमै गएर समेत आफ्नो फारम दर्ता गराउन सक्छन् । जसका लागि निश्चित शुल्क लाग्ने कम्पनीका संस्थापक पौडेलले बताए ।
यसबाट औसत मासिक ४० देखि ४५ हजारसम्म आय गरिरहेको उनी बताउँछन् । कम्पनीले आम्दानीको २० प्रतिशत मासिक रुपमा अनाथलयलाई दान गर्ने गरेको छ । करिब पाँच लाखको लगानीमा सुरू गरेको यो व्यवसायमा २० लाखसम्म लगानी भइसकेकाे छ । व्यस्त समयमा प्रविधिको सदुपयोग गर्न चाहनेका यो प्लेटफर्म सहयोगी हुनेछ । तसर्थ कम्पनीको भविष्य राम्रो हुने कुरामा पौडेल विश्वस्त रहेको छन् ।
सेवाग्राहीले कम्पनीको बिना-जानकारी कुनै कदम चालेमा र कुनै घटना घटेमा त्यसको जिम्मेवार आफै हुनपर्ने र सेवाग्राहीले उपलब्ध गराएका जानकारीको बारेमा समेत स्वयम् जिम्मेवार हुनुपर्नेछ । अहिले एपमार्फत सेवाग्राहीले च्याटमा मात्र कुरा गर्न सक्दछन् । सेवालाई प्रभावकारी बनाउन अडियो र भिजुअल दुवै फिचर थप्ने प्रक्रिया जारी रहेको छ ।
काठमाडौंमा मात्र सिमित नभई चाँडै नै इटहरी र बुटवलमा शाखा खोल्ने तयारी भइरहेको छ । सातै प्रदेशमा शाखासहित सेवा विस्तार गरेर अन्तर्राष्ट्रिय रुपमा ब्राण्ड स्थापित गर्ने कम्पनीको सोच रहेको छ ।