७ असार, एजेन्सी। म्यासेजिङ एप टेलिग्राममा ‘प्रिमियम सब्स्क्रिप्सन’ सुरू भएको छ। चर्चित यस एप (सामाजिक सञ्जालले) विभिन्न थप सुविधा सहित प्रिमियम भर्सन सुरू गरेको हो।
प्रयोग कर्ताले टेलिग्रामको प्रिमियम भर्सन प्रयोग गर्न निश्चित रकम तिर्नुपर्ने हुन्छ। त्यसपछि प्रयोगकर्ताहरूले ४ जिबीसम्मको फाइल अपलोड गर्ने, द्रुत गतिमा फाइल डाउनलोड, थप स्टिकर र रियाक्सन जस्ता सुविधाहरू प्रयोग गर्न पाउनेछन्।
एक आधिकारिक घोषणामार्फत टेलिग्रामका मासिक प्रयोगकर्ता ७० करोडभन्दा बढी रहेको उल्लेख गरिएको छ। त्यस्तै, २०२२ मा यो एप सबैभन्दा धेरै डाउनलोड गरिने पाँच एपमा पर्न समेत सफल भएको छ।
टेलिग्रामले एपमा सुधारको आवश्यकता भएको भन्दै एक महिना अघि थप सुविधा सहितको प्याकेज घोषणा गर्ने बताएको थियो ।
प्रयोगकर्ताहरूले टेलिग्रामको प्रिमियम फिचर प्रयोग गर्न मासिक ४.९९ अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ। यद्यपी, यस एपले फ्रि भर्सनमा थप सुधार गर्ने बताउँदै प्रयोगकर्तालाई प्रिमियममा जान बाध्य नपार्ने पनि बताएको छ।
यस्ता छन् टेलिग्रामको प्रिमियम फिचरमा प्रयोगकर्ताले पाउने थप सुविधा
१. एनिमेटेड प्रोफाइल पिक्चर
२. ४ जिबीसम्मको फाइल अपलोड
३. द्रुत गतिमा फाइल डाउनलोडको सुविधा
४. नयाँ स्टिकर्स र रियाक्सन
५. विज्ञापन रहित सामग्रीहरू