७ असार, काठमाडाैँ। मंगलबार विश्वभरका वेभसाइटमा केही समय समस्या देखिएको थियो। क्लाउडफ्लेयरमा समस्या देखा पर्दा मंगलबार विश्वभरका ठूला सहित साना र मझाैला वेभसाइटमा समस्या देखा पर्यो।
समस्या देखा परेका वेभसाइटहरूमध्ये कतिपय भने सर्वसाधारणहरूको पहुँचभन्दा बाहिर समेत पुगेका थिए।
क्लाउडफ्लेयरमा समस्या देखा परेपछि डिस्कोर्ड, क्यान्भा, स्ट्रिमयार्ड लगायतका वेभसाइटहरू केही समयका लागि डाउन भएका थिए।
तर, क्लाउडफ्लेयरले एक ट्वीटमार्फत समस्या समाधान गरिएका कारण वेभसाइटहरू सुचारू भएको जानकारी दिएको थियो।
अहिले माथि उल्लेखित सबै वेभसाइटहरू सुचारू भइसकेका छन् तर, समस्या देखिएको समयमा ‘500 Internal Server Error’ देखाएको थियो।
सामाजिक सञ्जाल र इकमर्स सहित क्रिप्टो एक्सचेन्ज साइटहरू वाजिरेक्स, क्वाइनबेस, एफटिएक्स, बिटफाइनेक्स र अोकेएक्स जस्ता साइटहरूमा पनि समस्या देखा परेको थियो।
त्यसैगरी, क्लाउडफ्लेयरका कारण विश्वभरका वेभसाइटमा समस्या देखिँदा नेपालमा अनलाइन समाचार सामग्री प्रकाशन गर्ने वेभसाइटहरू लगायत अधिकांश वेभसाइटमा समेत समस्या देखा पर्यो।
मंगलबार दिउँसो १२ बजेदेखि १ बजेको समयमा नेपालका वेभसाइटहरूमा पनि गति कम हुने, फोटो तथा अन्य मिडिया फाइलहरू अपलोड गर्न नमिल्ने र सर्च गर्दा ‘ Error’ देखिने खालका समस्या देखा परेको थियो।