८ असार, एजेन्सी। भारतमा सरकारी कर्मचारीहरूले भिपिएन र क्लाउड स्टोरेजहरू प्रयोग गर्न नपाउने भएका छन्। केन्द्रीय सरकारले अाफ्ना कर्मचारीहरूलाई नर्डभिपिएन, एस्प्रेस भिपिएन, गुगल ड्राइभ, तथा ड्रपबक्स प्रयोग नगर्न निर्देशन दिएको छ।
भारतमा यो निर्देशन ‘साइबर सेब्युरिटी गाइडलाइन्स फर गभर्मेन्ट इम्लोइ’ नाम दिइ नेशनल इन्फर्मेटिक्स सेन्टरले सुचना तथा प्रविधि मन्त्रालयको मातहतमा रही जारी गरेको हो।
भर्खरै जारी भएको निर्देशन भारतीय सरकारी कर्मचारीलाई कडा रूपमा लाग्नेछ भने सर्वसाधारणका लागि आकर्षित नहुने बताइएको छ।
नयाँ ‘प्रतिबन्धित’ कागजातले सरकारी कर्मचारीहरूको लागि राम्रो र नराम्रो साइबर सुरक्षा अभ्यासहरू हाइलाइट गर्दछ। सरकारको निर्देशन अनुसार भारतीय सरकारी कर्मचारीहरूले क्लाउड स्टोरेजका अलावा डाउनलोड म्यानेजर, वेदर टुलबार लगायत थर्ड पार्टी टुलबार पनि प्रयोग गर्न नपाउने भएका छन्।
त्यस्तै, सरकारी कर्मचारीहरूलाई पाइरेसी गरेर वेभसाइटमा राखिएका सफ्टवेयरहरू पनि डाउनलोड नगर्न सुझाव दिइएको छ।
भारतीय कर्मचारीहरूले भिपिएन प्रयोग गर्दा उनीहरूले गरेको काम ट्र्याक गर्न नसकिने भन्दै उनीहरूलाई भिपिएन प्रयोग नगर्न निर्देशन दिइएको अनुमान गरिएको छ।
त्यस्तै, भारतका क्लाउड स्टोरेजको प्रयोग वैध नै हो। तर, भारत सरकारले पनि अाफ्नै क्लाउड स्टोरेज बनाएको छ। भारतले निर्माण गरेको ‘डिजिलकर’ एउटा क्लाउड स्टोरेज हो। यसमा पनि गुगल ड्राइभ र ड्रप बक्सका सबै सुविधाहरू छन्। त्यसैले आन्तरिक प्रविधिनै प्रयोग गर्नका लागि सरकारी कर्मचारीलाई अन्य क्लाउड स्टोरेज प्रयोग नगर्न निर्देशन दिएको अनुमान गरिएको छ।