१० असार, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले टेस्लाको नयाँ प्लान्टबाट ठूलो रकम घाटा भइरहेको बताएका छन्।
कोरोना भाइरसका कारण गरिएको लकडाउन तथा वितरण प्रणालीमा समस्या देखिएपछि नयाँ प्लान्टबाट ठूलो रकम घाटा भइरहेको मस्कले बताएका हुन्।
‘विगत दुई वर्ष आपूर्ति प्रणालीमा देखिएको समस्याका कारणहरूका कारण खराब अवस्था सिर्जना भएको छ। हामी अझै यसबाट बाहिर आएका छैनौं। हामीले कसरी कारखाना सञ्चालनको अवस्था मै राख्ने र कर्मचारीलाई कसरी पारिश्रमिक दिने भन्ने हाम्रो चिन्ताको विषय हो’ एक अन्तर्वार्तामा मस्कले भनेका छन्।
यसभन्दा अघि उनले एक अन्तर्वार्तामा टाट पल्टिने संभावनाको बारेमा कुरा गरेका थिए।
चीनको सांघाइमा लकडाउन हुँदा पनि टेस्लाले ठूलो घाटा व्यहोरेको तथा टेक्सास र जर्मनीका कारखानामा पनि ठूलो मात्रामा खर्च मात्रै भएको मस्कको दाबी छ।
टेस्ला विश्वमै सबैभन्दा रूचाइएको विद्युतीय कार हो। त्यस्तै, एलन मस्क विश्वकै धनाढ्य व्यक्ति हुन्।



 
                        
                        
 
                                     
																							 
																							 
																							 
																							 
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                        