१७ असार, एजेन्सी । अमेरिकाको फेडेरल कम्युनिकेशन कमिसन (एफसिसी)ले टिकटकलाई आफ्ना एप स्टोरबाट हटाउन गुगल र एप्पललाई पत्र लेखेको छ। राष्ट्रिय सुरक्षा चुनाैतीको विषय भएको भन्दै एफसिसीका कमिसनरले आफ्ना एप स्टोरबाट हटाउन गुगल र एप्पललाई पत्र लेखेका हुन्।
एफसिसीका कमिसनर ब्रेन्डन कारले एप्पलका सिइओ टिक कुक र गुगलका सिइओ सुन्दर पिचाइलाई टिकटक हटाउन भन्दै दर्ता गरेको निवेदन ट्वीट गरेका छन्।
‘टिकटक भिडियो एप हैन। यो भेडाको लुगामा देखिएको ब्वाँसो हो’ उनले गरेको ट्वीटमा भनिएको छ।
टिकटकले अमेरिकी प्रयोगकर्ताहरूको सबै संवेदनशील डाटा सङ्कलन गर्ने र यी डाटाहरू बेइजिङमा यसको मूल कम्पनी बाइटडान्स स्टाफको पहुँचमा समेत रहेको उनले आरोप लगाएका छन्।
कारले टिकटकले आफ्नो नीति विपरित प्रयोगकर्ताहरूलाई भ्रमित गरिरहेको र उनीहरूको गोपनीयतामा ख्याल नगरेको आरोप पनि लगाएका छन्।
कारका अनुसार टिकटमले सर्च एण्ड ब्राउजिङ हिस्ट्री, कीस्ट्रोक प्याटर्न, बायोमेट्रिक आइडेन्टिफायर, ड्राफ्ट म्यासेज मेटाडेटा जस्ता डाटा सङ्कलन गर्दछ।
विश्वका केही मुलुकमा टिकटक प्रतिबन्धित छ। यसकै उदाहरण भारत हो। भारतमा सन् २०१९ मा सुरक्षा चुनाैति भएको भन्दै टिकटक चलाउन प्रतिबन्ध लगाइएको थियो।
कारले आफ्ना एप स्टोरबाट टिकटक हटाउन जुलाइ ८ सम्मको अल्टिमेटम गुगल र एप्पललाई दिएका छन्।