१७ असार, काठमाडाैँ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिङ्कले नयाँ प्रविधि XGS-PON को सफल परीक्षण गरेको छ। जिगाबाइट प्यासिभ अप्टिकल नेटवर्क(जिपिओएन)मा अपग्रेडका लागि वर्ल्डलिङ्कले उक्त परीक्षण सम्पन्न गरेको हो।
वर्ल्डलिङ्कले अहिलेको व्याण्डविथको माग धान्न क्रमशः अहिलेको जिपिओएन नेटवर्कलाई एक्सजिएस-पिओएनमा अपग्रेड गर्ने भएको हो। नेपालमा एक्सजिएस-पिओएनमा अपग्रेड गर्ने वर्ल्डलिङ्क पहिलो कम्पनी समेत भएको छ।
यस प्रविधिमा अपग्रेड भएपछि अपलोड र डाउनलोडको गति समान हुने बताइएको छ। जुन अहिलेको पिओएन प्रविधिमा छैन। अब एक्सजिएस-पिओएनमा १० जिबिपिएस डाउनलोड र १० जिबिपिएस नै अपलोड स्पिडको सुविधा ग्राहकहरूले पाउनेछन्।
यस प्रविधिबाट १ जिबिपिएससम्मको इन्टरनेट वितरण गर्न सकिने कम्पनीको भनाइ छ। यो स्पीड युट्युबर, कन्टेन्ट क्रिएटर, स्ट्रिमर, भिडियो गेमफर तथा भिडियो कन्फ्रेन्सका लागि अति उपयोगी हुने वर्ल्डलिङ्कको भनाइ छ।