१८ असार, काठमाडाैँ । नेपाल इन्जिनियरिङ कलेज भक्तपुरमा विश्वविद्यालय अनुसन्धान आयोगको सहयोगमा रोबोट निर्माण सम्बन्धी सफ्टवेयरको तालिम शुक्रबार सम्पन्न भएको छ । पाँचदिने कार्यक्रम यही असार १३ गतेदेखि १७ गतेसम्म सम्पन्न भएको थियो ।
पाँच दिनको तालिम विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सम्पन्न भएको हो । आयोगको क्षमतावृद्धी कार्यक्रमअन्तर्गत तालिम तथा विकास शीर्षकमा तालिम आयोजना गरिएको न्युज कारखानामा उल्लेख छ ।
३२ जना सहभागी रहेको तालिममा सिभिल, सिभिल एण्ड रुलर, कम्प्युटर, इलेक्ट्रिक र इलेकट्रोनिक्स विधाका शिक्षक तथा नेपाल इन्जिनियरिङ कलेजको रोबोटिक्स क्लबका केही विद्यार्थीको सहभागिता रहेको थियो ।
समापनमा मेकानिकल इन्जिनियर उपप्राध्यापक विभु शर्माले सोलिडवर्क्स नामक सफ्टवेयरमा रोबोटिक्स आर्म (रोबोटको हात) निर्माण गरी चलाउन सिकाएर यस कार्यक्रमको उद्देश्य पूरा भएको जानकारी गराए । कार्यक्रमका प्रमुख प्रशिक्षक उप प्राध्यापक निश्वान ढकालले यो कार्यक्रम एउटा सहजीकरणको माध्यम मात्र भएको र यसमा निपुणता ल्याउन निरन्तरको प्रयास चाहिने कुरा व्यक्त गरे । कार्यक्रमका सहभागी सुवर्ण खड्काले यस कार्यक्रमले रोबोटिक्सको क्षेत्रमा नयाँ आयामले लाग्ने प्रेरणा मिलेको बताए ।
कार्यक्रम प्रशिक्षक डा. अरुण सत्यालले रोबोट डिजाइन र मेसिन संयन्त्रको अनुकरण गर्नको लागि सोलिड वर्क्स भन्ने सफ्ट्वेयर सहायक देखिएको बताए । मेसिन संयन्त्रहरूको डिजाइन र अनुकरण गर्न सो सफ्ट्वेयर हामीले चलाइआएका सफ्टवेयरहरू भन्दा सहज रहेको र सोहीलाई तालिमको मुख्य केन्द्रबिन्दु राखिएको उनको भनाइ रहेको छ ।