१८ असार, एजेन्सी । गुगलले गर्भपतन सेवा दिने क्लिनिकमा भ्रमण गर्ने व्यक्तिहरूको लोकेशन हिस्ट्री डिलिट गर्ने भएको छ।
अमेरिकी सर्वोच्च अदालतले Roe v. Wadeलाई उल्ट्याएपछि यसले संवेदनशील डाटालाई कसरी नियन्त्रण गर्ने भनेर सम्बोधन गर्ने कम्पनीले पहिलो प्रयास गरेको हो।
गुगलका उप-प्रमुख जेन फिजप्याट्रीकले आगामी हप्ताहरूदेखि लोकेशन डाटाहरू डिलिट गर्न सुरू हुने एक ब्लगपोस्टमा लेखेका छन्। यो नीति प्रजनन क्लिनिक, घरेलु हिंसा आश्रय, लत उपचार सुविधा र अन्य संवेदनशील स्थानहरूको यात्रामा पनि लागू हुने बताइएको छ।
गत हप्ता अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनसम्बन्धि संवैधानिक अधिकार उल्ट्याएपछि अर्बाैं मानिसहरूको डाटा राख्ने कम्पनी गुगलको आलोचना भएको थियो।
प्रजनन अधिकारका केही समर्थकहरूले मानिसहरूलाई उनीहरूको महिनावारी चक्र अनलाइन ट्र्याक गर्ने एपहरू डिलिट गर्न दबाब दिएका छन्।
गुगलले गर्भपतन केन्द्रमा भ्रमण गरेको लोकेशन डेटा डिलिट गर्ने बताएपनि सर्च हिस्ट्री भने प्रयोगकर्ता स्वंयले डिलिट गर्नुपर्ने उल्लेख छ।
गुगलले सरकारी डेटा अनुरोधहरू ह्यान्डल गर्ने तरिका परिवर्तन गर्नेबारे कुनै प्रतिबद्धता पनि गरेको छैन।