२० असार, एजेन्सी । अष्ट्रेलियाका लाखाैँ नागरिकहरूका व्यक्तिगत विवरण खतराको अवस्थामा परेका छन्। सामाजिक सञ्जाल टिकटकले अमेरिकी प्रयोगकर्ताहरूको व्यक्तिगत विवरणमा चीनको पहुँच रहेको स्वीकारेपछि अष्ट्रेलियनहरूको विवरण समेत खतरामा परेको हो।
अमेरिकीहरूको विवणरमा चीनको पहुँच पुग्ने गरेको पाइएपछि केही अमेरिकी अधिकारीहरूले चिनियाँ कम्पनी टिकटकले अमेरिकाका लागि छुट्टै सर्भर राखेर अमेरिकाबाटै सञ्चालन गर्नु पर्ने राय समेत राखेका छन्।
टिकटकले चिनियाँ कर्मचारीहरूले ठूलो सुरक्षा संयन्त्रका बाबजुद पनि अमेरिकी प्रयोगकर्ताहरूको विवरणमा पहुँच राख्ने स्वीकारीसकेको छ।
अमेरिकी सांसद् मर्सा ब्ल्याकबर्नले टिकटकले सुरुदेखि नै स्वच्छ आउनुभन्दा आफ्नो कामलाई गोप्य रूपमा लुकाउने प्रयास गरेको आरोप लगाएकी छिन्।
अष्ट्र्रेलियाका टिकटक प्रयोगकर्ताहरूका विवरण टिकटकले अमेरिका र सिंगापुरका सर्भरमा राखेको छ। यसका कारण अष्ट्रेलियनहरूको विवरणमा पनि चीनको पहुँच रहने गरेको आशंका गरिएको छ।
लिवरल पार्टीका सांसद् जेम्स पिटर्सनले अस्ट्रेलियाली टिकटक प्रयोगकर्ताहरू उनीहरूको गोप्य जानकारी रूपमा खुला छ कि छैन भनेर जान्न योग्य रहेको बताएका छन्।
अष्ट्रेलियाका करीब ७० लाख मानिसहरूले टिकटकमा समय बिताउने गरेको फेब्रुअरीमा गरिएको एक अध्ययनले देखाएको छ।अष्ट्रेलियनहरूले एक महिनामा अाैसतमा २४ घण्टा समय टिकटकमा बिताउने गरेको सोही अध्ययनले देखाएको छ।
टिकटकले पहिलो पटक चीनमा रहेका कर्मचारीहरूले अमेरिकीहरूको विवरणमा पहुँच हुने स्वीकार गरेको हो।