२५ असार, एजेन्सी । फेसबुक र ट्वीटरले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको भिडियो हटाउने भएका छन्। ती सामाजिक सञ्जाल प्रयोग गर्दा पालना गर्नु पर्ने शर्तहरू भंग भएका कारण उक्त घटनासँग सम्बन्धित भिडियोहरू हटाइने भएको हो।
आबेमाथि दुई पटक घरेलु डबल ब्यारेल हतियारबाट बन्दुकधारीले गोली चलाएको धेरै भिडियोहरू सामाजिक सञ्जालमा अपलोड भएका छन्।
बिहीबार शिन्जो आबेमाथि राजनैतिक भाषण गरिरहेको अवस्थामा गोली प्रहार गरिएको थियो। गोली प्रहारबाट घाइते भएका आबेलाई हेलिकप्टरबाट तत्काल अस्पताल पुर्याइएता पनि चिकित्सकहरू ज्यान भने जोगाउन असफल भएका थिए।
ट्विटरका टोलीहरूले आक्रमणसँग सम्बन्धित हानिकारक सामग्रीलाई हटाउने काम गरिरहेको जानकारी दिइएको छ। त्यस्तै, मेटाको स्वामित्व रहेको फेसबुकले पनि गोली प्रहार भएका भिडियोहरू हटाएको छ।
‘जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा हामी अत्यन्तै दुखी र स्तब्ध भएका छौं।’ मेटाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।