२६ असार, मुस्ताङ । मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ताङ्वे र थासाङ गाउँपालिकाको छाक्ताङमा नेपाल टेलिकमको थ्रीजी मोबाइल नेटवर्क विस्तार भएको छ ।
नेपाल टेलिकम मुस्ताङ कार्यालय प्रमुख सुमनराम श्रेष्ठले ताङ्बे र छाक्ताङ मोबाइल टावरमा थ्रीजी सेवा राखिएको बताए । यसअघि छुसाङसम्म नेटवर्क थियो ।
त्यहाँदेखि ताङ्वेसम्मको साढे तीन किलोमिटर फाइबरसँगै टावरमा आवश्यक ब्याट्रीलगायत सामग्री प्रदेशसभा सांसद चन्द्रमोहन गौचनले सांसद विकास कोषको बजेटबाट खरिद गरेपछि सेवा विस्तार भएको जानकारी उनले दिए ।
आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सांसद गौचनको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट विनियोजित तीन लाख रुपियाँ बजेटबाट बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, ताङ्वेमा टावर राखेपछि त्यस क्षेत्रका जनताले थ्रीजी मोबाइल सेवा उपभोग गर्न सहज बनेको छ ।
यहाँका ९६ वटा गाउँमध्ये अधिकांशमा थ्रीजी मोबाइल सेवा नेटवर्क पुगिसकेको छ ।