२९ असार, एजेन्सी । संघीय ट्रिजरर सामाजिक सञ्जाल प्लेटफर्म टिकटकका चीनमा कार्यरत कर्मचारीहरूले अष्ट्रेलियन प्रयोगकर्ताको डाटा पहुँच गर्न सक्षम भएकोमा आफू चिन्तित भएको बताएका छन्। टिककले पनि अष्ट्रेलियन प्रयोगकर्ताहरूको डाटामा पहुँच हुनसक्ने स्वीकार गरिसकेको छ।
स्याडो साइबर सुरक्षा मन्त्री जेम्स प्याटरसनको पत्रको जवाफ दिँदै टिकटकले चीनमा रहेका आफ्ना कर्मचारीहरू अष्ट्रेलियाको डाटाहरूमा पहुँच पुर्याउन सक्षम भएको स्वीकार गरेको छ।
‘हाम्रा सुरक्षा टोलीहरूले डाटामा पहुँच भएका व्यक्तिहरूको सङ्ख्यालाई न्यूनीकरण गर्छन् र आफ्नो काम गर्नको लागि त्यो पहुँच चाहिने व्यक्तिहरूमा मात्र सीमित गर्छन्।’ टिकटकका अष्ट्रेलियन डिरेक्टर ब्रेन्ट थोमसले लेखेका छन्। ‘हामीसँग नीतिहरू र प्रक्रियाहरू छन् जसले हाम्रा कर्मचारीहरूद्वारा अष्ट्रेलियाली प्रयोगकर्ताको डाटामा आन्तरिक पहुँचलाई सीमित गर्दछ।’
चीनका टिकटक कर्मचारीहरूले अमेरिकी प्रयोगकर्ताहरूको डाटामा पहुँच पुर्याउने खबर सार्वजनिक भएसँगै अष्ट्रेलियाले पनि यसप्रति जिज्ञासा राखेको थियो।
सिनेटर प्याटरसनले अष्ट्रेलियाको डाटामा सम्झौता गर्न नसकिने टिकटकको दाबी विश्वसनीय नभएको बताए।
‘टिकटकले चिनियाँ कम्युनिष्ट पार्टीलाई डेटा हस्तान्तरण गर्ने कुरा अस्वीकार गर्दछ तर उनीहरूको राष्ट्रिय सुरक्षा कानूनलाई ध्यानमा राख्दै यो विश्वास गर्न गाह्रो छ।’ उनले भनेका छन्। ‘यो समय हो अल्बानीज सरकार ब्यूँझने र ७ मिलियन अष्ट्रेलियाली प्रयोगकर्ताहरूको गोपनीयताको रक्षा गर्न कदम चाल्ने ।’
ट्रिजरर जिम चाल्मर्सले टिकटक प्रयोगकर्ताहरूलाई उनीहरूले प्लेटफर्ममा के गर्ने भन्ने बारे सावधान रहन अनुरोध गरेका छन्।
चिनियाँ साइबर सुरक्षा कानूनले चिनियाँ कम्पनीहरूलाई निश्चित डाटा भण्डारण गर्न र चिनियाँ अधिकारीहरूलाई उनीहरूको सञ्चालनको छानबिन गर्न अनुमति दिन्छ।
कानुनले सामाजिक सञ्जाल कम्पनीहरूलाई बेइजिङले अनुरोध गरेमा सूचना हस्तान्तरण गर्न बाध्य समेत पार्छ। अष्ट्रेलियन टिकटक प्रयोगकर्ताहरूको डाटा अमेरिका र सिंगापुरको सर्भरमा राखिएको छ।