३० असार, काठमाडाैँ । देश विकास र समृद्धिका लागि सूचना प्रविधिको विकास र विस्तार गरी यसलाई साधनका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ । अल्टरनेटिभ फाउण्डेशनले आज यहाँ आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रममा सहभागीले सूचना प्रविधिको विकास र विस्तारका लागि बजेट वृद्धि गरी सापेक्ष नीतिको आवश्यकता रहेको बताएका हुन् ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले अहिलेको डिजिटल युगमा मानिसको उत्पादनशक्ति र उत्पादकत्व अभिवृद्धिका लागि विज्ञान र प्रविधिलाई अधिकतम उपयोग गरिनुपर्ने बताए ।
सचिव अर्यालले भने, “सूचना प्रविधिको विस्तारकै क्रममा आगामी साउन १ गतेदेखि प्रधानमन्त्री कार्यालय र मातहतका सबै निकायमा सूचना प्रविधिकै माध्ययमबाट काम अघि बढाइने छ ।”
आगामी दिनमा थप प्रविधिमैत्री बन्नका लागि सरकारी र निजी संस्थाको सामूहिक सहकार्यको आवश्यकता रहने भन्दै सचिव अर्यालले अहिले पनि सञ्चार मन्त्रालयमा ९५ प्रतिशत काम सूचना प्रविधिकै माध्यमबाटै सम्पन्न हुने गरेको जानकारी गराए ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेशराज भुजुले विज्ञान र प्रविधिलाई पाठ्यक्रमको भार र प्रयोगशालाको यन्त्र मात्र ठानिनु गलत सोचाइ रहेको बताउँदै आगामी दिनमा देश विकास र समृद्धिको संवाहकका रूपमा विज्ञान प्रविधिलाई लिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बालकृष्ण सुवेदीले सूचना प्रविधि अरुभन्दा फरक प्रकृतिको रहेकाले एकै प्रकारको नीति र सोचले यसको विकास हुन नसक्ने भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने धारणा राखे ।
आयोजक संस्थाका अध्यक्ष प्रकाश विकल्पले देश विकास एक पक्षको मात्रै प्रयत्नले सम्भव नहुने भन्दै राजनीतिक दल, कर्मचारीतन्त्र, राज्यको प्रणलीको साझा प्रयास आवश्यक रहने र ती सबैले सूचना प्रविधिलाई आधार मानेर काम गर्नुपर्नेमा जोड दिए ।
सामाजिक रूपान्तरण, नयाँ उत्पादन र उत्पादकत्वशक्ति बढाउन पनि आगामी दिनमा विज्ञानलाई अधिकतम र सचेतरूपले प्रयोग गरिनुपर्ने धारणा अध्यक्ष विकल्पले राखेका थिए ।