३ साउन, काठमाडाैँ । अनलाइनबाट गरिने मतदाता नामावली दर्तामा चाप बढेपछि निर्वाचन आयोगले उपत्यकाका तीनवटै जिल्लामा दैनिक दर्ता गराउनेको सङ्ख्या सीमा बढाएको छ । आयोगले प्रत्येक जिल्लामा दैनिक छ सय जनाले ‘प्री रजिस्ट्रेसन’ गरेर बायोमेट्रिकका लागि समय पाउने व्यवस्था गरेको हो ।
निर्वाचन आयोगले असार २९ गतेदेखि मतदाता नामावली अनलाइन दर्ता गर्न काठमाडौँ उपत्यकाका तीन जिल्लामा ‘पाइलट अपरेसन’ सुरु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई सय जनाको सङ्ख्या सीमा राखेर अनलाइन दर्ता सुरु गरिएकोमा दैनिक अब छ सय जनाले नाम दर्ता गरेर बायोमेट्रिकका लागि समय लिन पाउने व्यवस्था गरिएको जानकारी दिए ।
अनलाइनमार्फत ‘प्री रजिस्ट्रेसन’मा काठमाडौँ जिल्लामा हालसम्म करिब ५५० जनाले नामावली दर्ता प्रक्रिया टुङ्ग्याएका छन् । तर, हाल साउन ४ गतेसम्मका लागि मात्रै समय उपलब्ध गराइएको छ । चुनावको मिति साउन पहिलो साता नै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।