७ साउन, काठमाडाैँ । मेटाको स्वामित्व रहेको चर्चित सामाजिक सञ्जाल इन्स्टाग्रामले नयाँ फिचरहरू घोषणा गरेको छ। शुक्रबार घोषणा गरिएका फिचरहरू रिल, फोटो रिमिक्स लगायत रहेका छन्।
इन्स्टाग्रामको नयाँ फिचर अनुसार अब सार्वजनिक गरिएका फोटोहरू रिमिक्स गर्न सकिनेछ। त्यस्तै, रिमिस्क गरिएका फोटोहरू रिलको रूपमा समेत सार्वजनिक गर्न सकिनेछ। रिमिक्समा संगीत थप्ने, फिल्टर राख्ने र स्टिकरहरू राख्न मिल्ने समेत सुविधा रहेका छन्।
त्यसैगरी, इन्स्टाग्रामले घोषणा गरेको अर्को फिचर ट्याम्लेटस् एण्ड ड्युअल हो। ड्युअल फिचरले प्रयोगकर्ताहरूलाई एकै पटक अगाडी र पछाडीको क्यामेराबाट भिडियो रेकर्ड गर्न अनुमति दिनेछ। कुनै वस्तुको भिडियो खिच्दा सिधै रियाक्सन पनि रेकर्ड गर्न यो फिचर महत्वपूर्ण हुने अनुमान छ।
अबदेखि इन्स्टाग्राममा पोस्ट गरिएका १५ मिनेटभन्दा कम अवधिका भिडियोहरू रील मानिनेछन्। इन्स्टाग्राममा पोस्ट गरिने भिडियोहरू रील सेक्सनमा नजानका लागि १५ मिनेटभन्दा बढीको हुनु अनिवार्य भएको छ।
इन्स्टाग्रामका यी फिचरहरू अबका केही हप्तामा नै सार्वजनिक हुने अनुमान छ।