१६ साउन, काठमाडाैँ । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले डिजिटल साक्षरताले अबको मार्ग प्रशस्त गर्ने र इतिहासलाई स्मरण गराउने बताएका छन् । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशद्वारा प्रकाशित पुस्तक आइतबार हेटाेँडामा विमोचन गर्दै मन्त्री खनालले यी दुवै पुस्तकले बागमती प्रदेश र आफ्नो मन्त्रालयको साख बढाएको बताए ।
“अब प्रविधिसँग जोडिएन भने पछाडि परिन्छ, डिजिटल साक्षरता पुस्तकले प्रविधिसँग जोड्न मद्दत पुर्याउनेछ”, मन्त्री खनालले भने । सञ्चार रजिष्ट्रारका रुपमा उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिँदा यी सफलता प्राप्त भएको पनि मन्त्री खनालले बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव नारायण शर्माले सञ्चार रजिष्ट्रार कार्यालयले गरेको सिर्जनात्मक कार्य प्रशंसनीय रहेको बताए । “यस्ता कार्यलाई निरन्तरता दिनुपछ”, सचिव शर्माले भने ।