इन्टरनेट अहिले हरेक व्यक्तिको एक महत्त्वपूर्ण आवश्यकता बनेको छ। यसरी इन्टरनेट सञ्चालन हुनको लागि विभिन्न यन्त्र, भौतिक पूर्वाधार, लगानी र प्रविधिको सहायताले मात्र सम्भव भएको भन्दा गलत नहोला। दिनरात प्रयोग गर्ने इन्टरनेट हामीसम्म पुग्न लामो र जटिल प्रक्रियाबाट आउँछ।यसलाई सहज तरिकाले भन्ने हो भने हाम्रो घरघरमा जडान गरिएको इन्टरनेट Internet Service Provider (ISP) वा इन्टरनेट सेवा प्रदायक द्वारा उपलब्ध गराइन्छ भने राउटर, स्विच, जस्ता उपकरणको प्रयोगले हामीले आफ्नो डिभाइसमा इन्टरनेट प्रयोग गर्न सक्छौ।
इन्टरनेट सेवा प्रदायक (ISP) एउटा यस्तो कम्पनी हो जसले कम्प्युटरबाट इन्टरनेटको पहुँच प्रदान गर्दछ। इन्टरनेट सेवा प्रदायकको तीन स्तर हुन्छ: टियर-१ ISP, टियर-२ ISP र टियर-३ ISP।
१. टियर-१ ISP
टियर-१ ISP प्रदायकहरू इन्टरनेटको मेरुदण्ड हुन्। यिनीहरूले समुद्री केबुल जस्ता भौतिक पूर्वाधारको निर्माण गर्नुको साथै तल्लो-स्तरीय ISPs मा नेटवर्क ट्राफिक पठाउने गर्छन्। टियर-१ ISPहरू एक भन्दा बढी महाद्वीपहरूमा पियर गर्छन्। एउटा टियर 1 ISP ले अन्य टियर 1 प्रदायकहरूसँग पियरिङ मार्फत इन्टरनेट ट्राफिक आदान प्रदान गर्दछन्। यिनीहरूले अन्य आईएसपीहरूलाई ट्राफिक प्रदान गर्छन्, तर उपभोक्तासँग यिनीहरूको कुनै लेनदेन हुँदैन।
मुख्य टियर 1 ISPs मा AT&T, Century Link, Verizon, Deutsche Telekom AG, Sprint, NTT, SingTel, Japan Telecom, Telstra, आदि पर्दछन्।
२. टियर-२ ISP
टियर २ आईएसपीलाई टियर १ र ३ बिचको पुल पनि भन्न सकिन्छ। टियर 2 ISP हरू सामान्यतया क्षेत्रीय वा राष्ट्रिय प्रदायकहरू हुन्। यिनीहरूले दुई भन्दा बढी महाद्वीपहरूसम्म सेवा प्रदान गर्न सक्छन्। टियर २ का ISP हरुले टियर १ का आइएसपीबाट प्राप्त हुने इन्टरनेट ट्राफिकको प्रयोग गरी टियर 3 आइएसपीहरू मार्फत ग्राहकहरूलाई इन्टरनेट ट्राफिक प्रदान गर्छन्। यिनीहरूले अन्य टियर 2 आइएसपीहरूसँग पनि पियरिङ गर्दछन्।
मुख्य टियर २ ISP मा Hurricane Electric, Korea Telecom, Fibrenoire, TDC, Vodafone, British Telecom, Comcast, आदि पर्दछन्।
३. टियर-३ ISP
टियर ३ ISP एउटा प्रदायक हो। यसको मुख्य काम टियर २ ISP बाट नेटवर्क ट्राफिकको प्रयोग गरेर घर तथा व्यवसायीमा पुर्याउनु हो। यिनीहरूले जति ट्राफिक उत्पन्न हुन्छ, त्यही आधारमा टियर-२ आइएसपीलाई केही महसुल तिर्नुपर्छ। यी ISP हरू उपभोक्तासँग सबैभन्दा नजिक भएकाले उनीहरूलाई केही पैसा लिएर भौतिक केबुल, DSL, राउटर र स्विच प्रदान गरेर घर तथा कार्यालयहरूमा इन्टरनेट जडानमा मद्दत गर्छन्। यिनीहरूले अन्य टियर 3 आइएसपीहरूसँग पनि पियरिङ गर्दछन्।