” साइबर अपराध “ शब्द सुन्दा सबैको दिमागमा सुरुमा आउने कुनै ह्याकरको तस्वीर नै होला। ह्याकिङ साइबर अपराधको एउटा भाग मात्र हो, जबकि साइबर अपराधमा धेरै प्रकारका अपराधहरू पर्न सक्छन्।
साइबर अपराध एक प्रकारको आपराधिक गतिविधि हो जहाँ कम्प्युटर र नेटवर्क प्रयोग गरेर अनलाइन अपराध गरिन्छ। प्रायजसो साइबर अपराधीहरू पैसा कमाउन साइबर अपराध गर्छन्। प्रविधिको विकासले गर्दा अहिले यस्ता अपराधहरू गर्न एकदम सजिलो छ।
तपाइले पक्कै पनि एउटा यस्तो व्यक्तिलाई चिन्नु भएको छ होला जसले एक छिनमै अरूको Wi-Fi ह्याक गर्न सक्छ, या त कसैको सामाजिक सञ्जालको खाता चोर्न सक्छ। अपराधीहरूले यस्ता अपराधहरू गर्न आधुनिक प्रविधिको गति र सुविधाको नाजायज फाइदा उठाउँछन्।
प्रायजसो नेपालीहरूले मनोरञ्जनका लागि कम्प्युटर र इन्टरनेटको प्रयोग गर्ने हुँदा धेरैलाई साइबर अपराध अनि सुरक्षा बारे थाहा हुँदैन। यस कारण धेरै व्यक्तिहरू सामाजिक सञ्जालमा फैलिरहेका स्क्याम र ठगहरूमा फस्दछन्। तपाईँलाई लटरी पर्यो, आफ्नो बैङ्क खाता दिनु भनेर कत्तिको म्यासेजमा यो आएको होला। तर जसलाई साइबर अपराधको बारेमा ज्ञान छ, त्यसले मात्र त्यस्ता अपराधबाट बच्न सक्छ।
अस्ति भर्खरै सबैको फेसबुकमा तपाईलाई आफ्नै चिनेको मान्छेद्वारा एउटा म्यासेज आयो होला, “ल हेर्नु त? यो तपाईँ हो?” भनेर। जब तपाइले त्यो म्यासेज खोल्न खोज्नु हुन्थ्यो, तपाइको खाता नै बन्द हुने या केही छिन चलाउन नमिल्ने हुन्थ्यो। यो पनि हजुरको खाता लिन खोजेको या डाटा चोर्न खोजेको एक प्रकारको साइबर अपराध नै हो।
के कस्ता छन् त नेपालमा साइबर सुरक्षाका चुनौती र नियमहरू?
नेपालमा साइबर सुरक्षामा विभिन्न कार्यहरू समावेश छन् तर त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा अहिले साइबर सुरक्षाको विषय एकदम जोखिम बनेको छ।
कत्ति घटनाहरूमा त पीडितहरूले त्यो अपराधलाई रिपोर्ट गर्न असफल हुन्छन्। आफूले भोगेको समस्यालाई कता गएर भन्ने ज्ञान नहुँदा कत्ति अपराध त हाम्रो माझ आउँदै आउँदैनन्।
जब उनीहरूले सम्बन्धित निकायहरूलाई रिपोर्ट गर्छन्, तब महत्त्वपूर्ण सीप र प्रविधिको कमीका कारण ती घटनाहरूलाई सम्बोधन गर्न गाह्रो पर्दछ। सही नियम, कानुन, दण्ड अनि निकायको अभावले नागरिकहरूले प्राविधिक सुविधाहरूको फाइदा लिनबाट वञ्चित हुन्छन्। जस्तै: हाम्रो कानुनमा सही तरिकाले डिजिटल पैसा भुक्तानीलाई समावेश नगरेको हुँदा यससँग सम्बन्धित समस्या आउँदा सही निकाय र नियमको अभावले सही दण्ड र कारबाही गर्न असामर्थ्य हुन्छ।
नेपालमा साइबर अपराधका अनुसन्धानकर्ता:
विद्युतीय सञ्चारको सुरक्षाको लागि नेपालमा सर्वप्रथम Electronic Transactions Act, 2063 (2008) लागु गरिएको थियो। यसका मुख्य कार्यहरुमा विद्युतीय तथ्याङ्कको प्रमाणीकरण गर्ने, ती सम्बन्धी कानुनी प्रावधान बनाउने, विद्युतीय सञ्चारलाई सुरक्षित माध्यम बनाउने, विद्युतीय कारोबारसम्बन्धी सम्पूर्ण विषयहरू नियमन गर्ने जस्ता कार्यहरू पर्दछन्।
वर्तमान र आगामी दिनमा प्रविधि प्रयोग गर्दा घट्ने अपराधहरूको रोकथाम र सफल अनुसन्धान गर्ने उद्देश्यले नेपाल प्रहरी भित्र रहेका संयन्त्रहरूलाई समयानुकूल परिमार्जन गरी थप सुदृढ बनाउने क्रममा साइबर अपराध सचेतना, साइबर सुरक्षा र साइबर अपराध अनुसन्धान समेतको कार्य गर्नका लागि नेपाल सरकारको मिति २०७५/०२/२७ गतेको निर्णय बमोजिम प्रहरी प्रधान कार्यालय अन्तर्गत, साइबर ब्युरोको स्थापना भएको हो ।
साइबर ब्युरोका कर्तव्य तथा जिम्मेवारीहरु ।
– प्रभावकारी रुपमा साइबर अपराधको अनुसन्धान गर्ने ।
– साइबर सुरक्षा बढाउनका लागि सरकारी निकाय तथा विज्ञहरूसँग सहकार्य गरी काम गर्ने ।
– संवेदनशील पूर्वाधार निर्माण सम्बन्धी साइबर अपराधको अनुसन्धान गर्ने ।
– साइबर अपराध र आक्रमणको सामना गर्न सक्षम प्रहरी जनशक्ति जुटाउने ।
– यसबाट हुने खतरा र चुनौतीका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था र सुरक्षा निकायबिच सूचना आदान प्रदान गर्ने ।
छानबिन र साइबरमा सही प्रविधिको अभावले अपराधीहरूलाई पक्रन गाह्रो भएको छ। यस्तो अवस्थामा साइबर कानुन अति आवश्यक छ। नेपालका सबै व्यापार व्यवसायदेखि सरकारी कामहरूसम्म अनलाइन सञ्चार मार्फत हुने हुँदा साइबर सुरक्षाको अहिले सबैभन्दा बढी खाँचो छ। त्यसलाई गम्भीर अपराधमा फस्नबाट जोगाउन साइबर कानुन र अनुसन्धान निकायहरू प्रभावकारी हुनु आवश्यक छ।