२५ साउन, साउन । साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आशंकामा ट्विटरका एक पूर्व कर्मचारीलाई दोषी ठहर गरिएको ब्लुमबर्गमा रिपोर्ट प्रकाशित भएको छ।
अमेरिकी निवासी अहमद अबुआम्मोलाई जालसाजी, नक्कली रेकर्ड र मनी लान्ड्रिंग गर्ने षड्यन्त्रमा जुरीले दोषी ठहर गरेको थियो। उनीलाई २० वर्षसम्म जेल सजाय हुनसक्ने बताइएको छ।
उनले २०१४ देखि १५ सम्म कम्पनीमा मध्य पूर्वमा मिडिया साझेदारीमा काम गरेका थिए। संघीय उजुरीका अनुसार, उनी र ट्विटरका अर्का कर्मचारी अली अल्जाबराहलाई साउदी सरकारले सम्पर्क गरेको थियो। उनीहरूलाई प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी सङ्कलन गर्न सहयोगको लागि नगद र विलासिताका सामानहरू प्रस्ताव गरेको ब्लुमबर्गमा उल्लेख छ।
कम्पनीका इन्जिनियर अल्जाबराह मुद्दा वेवास्ता गर्दै साउदी अरेबिया भागेका छन्। साउदी सरकारसँग उनको सम्बन्धको बारेमा बताउँदै ट्वीटरले केही प्रयोगकर्ताहरू सरकारद्वारा परिचालित व्यक्तिहरूको निसानामा परेको हुनसक्ने बताएको छ।
साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सरकारका एक प्रमुख सदस्यले आफ्ना शत्रुहरूको अनुसन्धान गर्न मद्दतको लागि अबुआम्मोलाई ट्याप गरेको मुद्दामा अभियोजन पक्षले तर्क गरेको छ।
अबुआम्मोले साउदी सरकारका आलोचकहरूको जन्म मिति, इमेल ठेगाना र फोन नम्बरहरू लगायतका व्यक्तिगत जानकारीहरू संकलन गरे र त्यो डाटा त्यहाँका आफ्ना सम्पर्कहरूमा पठाएको आरोप लगाइएको छ।
अबुआम्मोको वकिलले उनले ट्विटरमा आफ्नो नियमित कार्य कर्तव्यको भागमा मात्रै पहुँच राख्ने तर्क गरेका छन।