२५ साउन, एजेन्सी। टेस्लाका मालिक एलन मस्कले विद्युतीय कार निर्माता कम्पनीमा थप ७.९२ मिलियन शेयर बेचेका छन्। ट्वीटरसँगको कानुनी लडाइ सुरू भएपछि उनले करीब ७ अर्ब डलर बराबरको शेयर बिक्री गरेका हुन्।
गत हप्ता फर्मको वार्षिक सेयरहोल्डर बैठक पछि उक्त शेयर बिक्री भएको बिबिसीमा उल्लेख छ। ४४ अर्ब डलरमा ट्विटर किन्न बाध्य भएमा आफूलाई पैसा चाहिने मस्कले बताएका छन्।
गत महिना उनले ट्वीटर किन्नको लागि सम्झौताबाट बाहिरिने बताएपछि विश्वकै धनाढ्य क्वति हाल सोसल मिडिया प्लेटफर्मसँग कानुनी लडाईमा फसेका छन्।
युएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिशनमा छ वटा फाइलिङका अनुसार पछिल्लो शेयर कारोबार ५, ८ र ९ अगस्टमा गरिएको थियो।
शेयर बिक्रीको खबर सार्वजनिक भएपछि मस्कले ट्वीटमा यो खबर साँचो भएको पुष्टि गर्दै ट्विटर किन्न बाध्य भएको अवस्थामा पैसा चाहिने र त्यसका लागि सुरक्षित भइराखेको बताएका छन्।
जुलाईमा मस्कले ट्विटर किन्न आफ्नो बोलीबाट टाढा जाने योजना बनाएका थिए। जसका कारण ट्वीटरले उनीविरूद्ध मुद्दा दर्ता गरिसकेको छ। विश्वका सबैभन्दा धनी व्यक्तिले कम्पनीमाथि नक्कली खाताको जानकारी लुकाएको आरोप लगाएका छन्।
गत महिना एक अमेरिकी न्यायाधीशले मस्क विरुद्ध ट्वीटरको मुद्दा अक्टोबरमा बहसमा जानुपर्ने फैसला सुनाएका छन्। अदालतले मस्कलाई ट्वीटरको प्रति शेयर ५४.२० अमेरिकी डलरमा खरिद गर्न आदेश दिनेमा ट्वीटर विश्वस्त देखिएको छ।
त्यस्तै, मस्कले पनि ट्वीटरको विरूद्धमा अर्को मुद्दा दर्ता गरेको बताइएको छ। तर, उक्त मुद्दाको सम्पूर्ण विवरण भने सार्वजनिक भएको छैन।