२८ साउन, काठमाडाैँ । कलब्रेक १० करोड पटक डाउन लोड हुने पहिलो एप बनेको छ। नेपालीले नै बनाएको उक्त मोबाइल गेम एपले १० करोड डाउनलोडको कोशेढुंगा पार गरेको हो।
यो एक नेपाली कम्पनी टेस्लाटेकले बनाएको हो। २०१४ मा स्थापना भएको यो कम्पनीले अहिलेसम्म ४ वटा एप बनाएको छ।
त्यसमध्ये २ वटा मनोरञ्जन, एउटा आर्थिक क्षेत्र र एउटा शैक्षिक क्षेत्रसँग सम्बन्धित छन्। ती शब्द पहेली, ट्याक्स क्यालकुलेटर, हाम्रो इन्ट्रान्स र कलब्रेक रहेका छन्।
सुजन श्रेष्ठले तयार पारेको कलब्रेकको पहिलो भर्सन २०१४ मा सार्वजनिक भएको थियो। नेपालीहरूमाझ चर्चित कलब्रेक खेल मोबाइलमा पनि उत्तिकै सफल भएको छ।
सन् २०१७ मा कलब्रेक गुगल प्ले स्टोरबाट ५० लाख डाउनलोड पुरा भएको थियो। त्यसको करीब ६ महिनापछि कलब्रेक १ करोड पटक डाउनलोड पूरा गर्न सफल भयो।
त्यस्तै, १ करोड पटक डाउनलोड पुरा भएको यो एप सन् २०१९ मा ५ करोड डाउनलोड भयो भने गत बिहीबार १० करोड पटक डाउनलोड हुने पहिलो एप बन्न सफल भयो।
कलब्रेक नेपाली युवा तथा वृद्धहरूमाझ पनि उत्तिकै चर्चित छ। अफलाइन समेत खेल्न सकिने भएका कारण यसको लोकप्रियता झन बढिरहेको छ।