२८ साउन, एजेन्सी। ट्विटरको विरूद्ध चलिरहेको कानुनी लडाईको बीचमा टेस्लाका सीईओ एलन मस्कले ट्वीटरको प्रतिस्पर्धीको रूपमा आफ्नै सोसल मिडिया साइट ल्याउने हल्ला सुरू भएको छ।
आफ्ना फलोअर्स मध्ये एकको प्रश्नको जवाफ दिँदै मस्कले नयाँ सोसल मिडिया प्लेटफर्म ‘X.com’ लाई संकेत गर्दै एउटा घुमाउरो ट्वीट गरेका छन्।
मंगलबार एक सामाजिक सञ्जाल प्रयोगकर्ताले अर्बपति मस्कलाई आफ्नै सोसल मिडिया प्लेटफर्म बनाउने कुनै विचार छ कि छैन भनि सोधेका थिए। ट्विटरमा एकदमै सक्रिय रहेका मस्कले यो प्रश्न याद गरे र “X.com” लेखेर जवाफ दिए।
X.com दुई दशक अघि स्थापित मस्कको स्टार्टअपको डोमेन नाम थियो। जुन पछि उनले वित्तीय सेवा कम्पनी पेपलसँग सँग मर्ज गरे।
गत हप्ता मस्कले टेस्लाको वार्षिक सेयरहोल्डर बैठकमा पनि वेबसाइटको बारेमा कुरा गरेका थिए। पछिल्लो ट्विट यस्तो समयमा आएको हो जब मस्क ट्विटरसँगको उच्च दाबी कानुनी लडाईमा संलग्न छन्।
४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सम्झाैताबाट एलन मस्क पछि हटेपछि ट्विटरले उनीविरूद्ध कानुनी लडाइँ सुरू गरिसकेको छ। तर, गत हप्ता उनले टेस्लाको करीब ८० लाख कित्ता सेयर बेचेका छन्।
यसलाई उनी ट्विटर किन्ने मुडमा रहेको भनेर पनि व्याख्या गरिइरहेको छ।