२९ साउन, काठमाडाैँ । डिजिटल युगको तामझामपूर्ण वातावरणमा टिकटकको नाम नसुन्ने सायदै कोही होला । दुनियाँका सामु सर्वपरिचित टिकटकलाई ‘प्रतिभा–डबली’ भन्दा फरक नपर्ला । किनभने यसले कलापारखीका लागि प्रतिभा प्रदर्शन गर्ने गतिलो डबली दिएको छ ।
प्रतिभा प्रस्फुटनको अवसर नपाएका कलापारखीलाई रङ्गमञ्च दिएर प्रतिभा अङ्कुरणमा गुन लगाउने टिकटकको गुनिलो देन बिर्सिनसक्नुको छ । यसले आम नागरिकलाई सेलिब्रिटी बनाउने काम गर्दै आएको छ । यसबाट एउटा सामान्य व्यक्तिको परिचय रातारात बदलिन पुगेको छ, जसबाट समाजमा एक प्रकारको हलचल नै आएको छ ।
टिकटकले ल्याएको हलचललाई छोटो भिडियोको युग सुरु भइसकेको सङ्केतका रूपमा पनि लिन सकिन्छ । सामान्य नागरिकको पहुँचमा नभएका स्टुडियोमा निर्मित लामा–लामा भिडियोको आधिपत्य भइरहेका बेलामा सर्वसाधारणको सहज पहुँचमा रहेका छोटा भिडियो एप अस्तित्वमा आएपछि भिडियो जगत्को परिदृश्य पूरापूर बदलिएको छ ।
अचेल टिकटकजस्ता सैयौँ छोटो भिडियो एप (डबली)हरू अस्तित्वमा छन् । टिककिक, इन्स्टाग्राम रिल, हिप्पो भिडियो, मेजिस्टो, विस्टिया, फनीमेट, बाइट, भिडियो स्टार, फायरवर्क, लिटलट, ब्युटी भिडियो, जुम-याङ, चिज आदि छोटा भिडियो डबलीहरू हुन् जसमार्फत हजारौँले आफ्ना प्रतिभा प्रदर्शन गरिरहेका छन् ।
भिडियो ट्रान्सलेटर नामक वेबसाइटमा प्रकाशित एक लेखका अनुसार चर्चित छोटो भिडियो प्ल्याटफर्ममा भिगो भिडियो, टिकटक, लाइकी, म्याजिस्टो लास्सो, भिभा भिडियो, ट्विच, इन्स्टाग्राम पर्छन् । यीमध्ये लाइकी, इन्स्टाग्राम, टिकटक, भिभो भिडियोले लाइभस्ट्रिमिङको सुविधा पनि दिएका छन् ।
कतिपय देशमा छोटो भिडियोका आफ्नै संस्करणहरू छन् । भिडियोसाइफर नामक वेबसाइटमा प्रकाशित एक लेखमा जनाइएअनुसार छिमेकी मुलुक भारतमा मिट्रन, मोजो, चिङ्गारी, जोश, टिककिट, सेयरच्याट, लिटलट, रोपोसो जस्ता छोटो भिडियो प्ल्याटफर्महरू चल्तीमा छन् ।
इतिहास
छोटो भिडियोको इतिहास लामो छैन । सन् २०१२ मा स्न्यापच्याटले १० सेकेन्ड लामो भिडियो रेकर्ड गर्न सक्ने एप उपलब्ध गरायो, जसमा सन्देश रेकर्ड गरेर साथीसङ्गीलाई पठाउन सकिन्थ्यो । यसैगरी सन् २०१३ मा भाइनले ६ सेकेन्डको भिडियो एप उपलब्ध गरायो ।
छोटो भिडियो प्ल्याटफर्महरू एकपछि अर्को गरी आउने क्रममा सन् २०१४ मा म्युजिकल्लीले लिप्सिङ सुविधासहितको ६० सेकेन्डको एप उपलब्ध गरायो । सन् २०१६ मा टिकटक अस्तित्वमा आयो, जुन छोटो समयमै सबैलाई उछिनेर संसारभर लोकप्रिय हुन पुग्यो । अहिले पनि टिकटकजस्तै नयाँ–नयाँ छोटा भिडियो डबली आउने क्रम जारी छ ।
हिजोका दिनमा भिडियो हेर्नका लागि टेलिभिजन सेट नै आवश्यक थियो । अब त्यो असजिलो अवस्था रहेन । स्मार्टफोन आएपछि मोबाइल फोनमै थरीथरीका भिडियो सहजै हेर्न पाइने अवसर पैदा भयो, जुन छोटो भिडियोका लागि एउटा उर्वर भूमि बन्न पुग्यो ।
प्रतिस्पर्धाको घन्टी
छोटो अवधिमै छोटो भिडियो–डबलीको चर्को उपस्थितिले छोटो भिडियो एप उत्पादक कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा त छँदैछ, अघि नै ख्याति कमाएका र बजारमा वर्चस्व कायम गरिसकेका कतिपय सोसल मिडिया प्ल्याटफर्महरूले प्रतिस्पर्धाको घन्टी बजेको अनुभव गर्न थालेका छन् । प्रतिस्पर्धाको दौडमा आफू खरो नउत्रिए पछाडि परिने भयले उनीहरूले छोटो भिडियोका लागि नयाँ प्ल्याटफर्म सार्वजनिक गरिसकेका छन् ।
उदाहरणका लागि नेटफ्ल्क्सिले छोटो भिडियो प्ल्याटफर्म ‘फास्ट लाफ्स्’ सुरु गरेको छ भने यु ट्युबले पनि ‘यु ट्युब सर्टस्’ सुरु गरेको छ । यसैगरी स्न्यापच्याटले ‘स्न्यापच्याट स्पटलाइट’ प्रयोगकर्ता सामु ल्याइसकेको छ । फेसबुकले ‘फेसबुक स्टोरी’ मार्फत तस्बिर तथा छोटो भिडियोलाई स्थान दिँदै आएको छ । यसबाहेक बहुसङ्ख्यक सोसल मिडियाले पनि छोटो भिडियोका लागि आकर्षक प्ल्याटफर्महरू धमाधम खडा गर्दैछन् ।
छोटो भिडियो–डबलीले ल्याएको हलचलले फिचर फिल्म उत्पादन गर्ने चलचित्र उद्योगलाई पनि तरङ्गित तुल्याएको छ । यससँगै छोटो खालका चलचित्र अर्थात् माइक्रोमुभिज् (माइक्रोसिनेमा)को अवधारणा पनि अस्तित्वमा आउन थालेको छ ।
अचेल छोटो खालका चलचित्र निर्माण हुने क्रमले मूर्त रूप लिइसकेको छ । ‘क्याडिलक’, ‘रुट ६६’, ‘२०८८’, ‘लभ इज अल यु निड’, ‘होल्डिङ द रेन’ आदि । सन् २०१० मा हङकङमा निर्मित चलचित्र ‘क्याडिलक’ पहिलो माइक्रोमुभि मानिन्छ ।
लोकप्रियको रहस्य
एक्काइसौँ शताब्दी सूचना विस्फोटनको युग हो । वर्तमान युगमा सूचनाको कुनै कमी छैन । सोसल मिडियाले मूलतः श्रव्य, लेख्य तथा श्रव्य–दृश्य (भिडियो) माध्यमबाट सूचना सम्प्रेषण गर्छन् । यीमध्ये भिडियोप्रति मानिसको आकर्षण बढी छ । सोसल मिडियामार्पmत धेरै प्रयोगकर्तासम्म पुग्ने लोकप्रिय कन्टेन्ट नै भिडियो भन्ने तथ्य अध्ययनबाट खुलेको छ । मूलतः सोसल मिडियामा प्रयोग हुने सामग्रीमध्ये भिडियोलाई सबै सामग्रीको राजा(King of all content) मान्ने चलन छ ।
भिडियोले यस प्रकारको पदवी पाउँदापाउँदै पनि सबैले सबै भिडियो हेर्छन् भन्ने चाहिँ छैन । व्यस्त जीवनशैली, चौतर्फी हतारो, विविध रूप–रङ्गका सोसल मिडियाको बाक्लो उपस्थिति आदिले मानिसको एउटै चिजमा ध्यान अडिने समय (Attention span) घट्दै गएको छ । कुनै सामग्रीमा मानिसको छिट्टै ध्यान भङ्ग हुने अवस्था छ । यसलाई ‘ट्याकल’ गर्न छोटो समयमा प्रभावकारी किसिमले सूचना सम्प्रेषण गर्नुपर्ने चुनौती हामीसामु आएको छ ।
छोटो भिडियोको आगमन यसैको जवाफ हो । छिटो, छरितो र प्रभावकारी किसिमले आफ्नो कुरा राख्नका लागि छोटो भिडियो एकदमै उपयुक्त माध्यम मानिएको छ । प्रडक्ट ट्युटोरियल्स्, शैक्षिक सामग्री, ब्रान्ड विज्ञापन, लामो चलचित्रको टिजर, नयाँ उत्पादनको विज्ञापन, पूर्वघटित घटनाको पूर्वस्मृति प्रस्तुतीकरण आदिका लागि छोटो भिडियो अतिशय उपयोगी मानिन्छ ।
यसैगरी प्रयोगकर्ताबीच तीव्र विस्तार (Fast transmission) को सम्भावना, सामग्री एकदमै छोटो भएकाले दोहो-याई तेह-याई हेर्न सकिने अवस्था, एउटा सोसल मिडिया प्ल्याटफर्ममा भएको सामग्री अर्को प्ल्याटफर्ममा सेयर हुने (Cross-platform migration) तीव्र सम्भावना, प्रस्तुतिमा रोचकपन आदिका कारण छोटो भिडियो एकदमै छिटो भाइरल हुन्छन् । प्रभावकारी किसिमले तयार पारिएको छोटो भिडियो प्रयोगकर्ताको स्मृतिमा लामो समयसम्म रहन सक्छ ।
अर्को कुरा गुगल सर्च इन्जिनमा छोटो भिडियोहरू अग्रस्थानमा देखा पर्छन्, जुन जानकारी रक कन्टेन्ट वेबसाइटमा प्रकाशित एक लेखमा छ । यसरी छोटो भिडियोको लोकप्रियताको ग्राफ निरन्तर बढिरहेको देखिन्छ । यही भएर होला हरेक १० जना स्मार्ट फोनधारीमध्ये सात जनाले छोटो भिडियोको कुनै न कुनै एप प्रयोग गरेको अध्ययनले बताएको छ ।
छोटो भिडियोको अरू सकारात्मक पक्षहरू पनि छन् । पाँच मिनेटको चिया–ब्रेक होस् वा बस पर्खंदाको छोटो समयमा किन नहोस्, यस्ता भिडियो हेरेर मनोरञ्जन लिन सकिन्छ । अर्कोतिर छोटो भिडियो बनाउन र प्रयोग गर्न पनि सजिलो छ । यस्ता भिडियो बनाउन धेरै योजना बनाउनु पर्दैन । उत्पादन खर्च पनि धेरै लाग्दैन । यसैगरी छोटो भिडियो सिर्जनशील भिडियोग्राफरहरूका लागि आम्दानीको माध्यम पनि बनेको छ ।
छोटो भिडियोका यिनै गुनिलो पक्षलाई ध्यानमा राखेर यसको बहुपक्षीय उपयोग हुन थालेको छ । यसलाई बजारीकरणको भरपर्दो माध्यमका रूपमा लिन थालिएको छ । एक अध्ययनले ८५ प्रतिशत विदेशी कम्पनीले छोटो भिडियो बजारीकरणको माध्यम (A marketing tool) का रूपमा प्रयोग गरिसकेका छन् । ८४ प्रतिशत ग्राहकले छोटो भिडियोमा आउने विज्ञापन हेरेर सरसामान किन्ने गरेको पनि अध्ययनबाटै खुलेको छ । गोरखापत्र/यमबहादुर दुरा