३१ साउन, एजेन्सी। सन् २०१४ मा सुरु भएको NFT ले किन अहिले लिँदै छ त सबैतिर चर्चा? के हो NFT अनि किन छ त यसको आवश्यकता अहिलेको समयमा?
NFT (Non-Fungible Token) एउटा डिजिटल टोकन जस्तै हो। यसको मद्दतले तपाइले आफ्नो कुनै पनि भौतिक वा डिजिटल सामान, कला, सङ्गीत, भिडियो, फोटो, खेल, आदिको स्वामित्व प्रमाण गर्न सक्नुहुन्छ। यसको लोकप्रियता बढ्नुको कारण यसले तपाईलाई डिजिटल संसारमा आफ्नो एक प्रकारको सम्पत्ति वा अधिकारको प्रमाण दिने भएर हो। यी सबै बुझ्नु भन्दा अघि NTF को अर्थ बुझ्नु आवश्यक छ।
फन्जिबल (fungible) सामान भनेको कुनै पनि वस्तुसँग साटासाट गर्न मिल्ने चिज हो। जस्तै तपाईँसँग भएको रु. १० को नोट र मसँग भएको रु.१० को नोट उस्तै हुन्छ चाहे त्यो नोटमा सिरियल नम्बर फरक नै किन नहोस्। त्यसलाई फेरबदल गर्दा पनि त्यसको अस्तित्व र मूल्यमा केही फरक पर्दैन।
गैर फन्जिबल (Non-Fungible) वस्तु अर्थात् त्यसैलाई कुनै पनि वस्तुले साट्न नमिल्ने प्रकारको चिज हो। यी वस्तुहरु एक अर्काभन्दा फरक हुने हुँदा कुनै पनि एउटा वस्तुलाई फेरबदल गरी अर्को राख्न नमिल्ने हुन्छ। तपाइले बनाएको डिजिटल चित्र अरूको भन्दा बेग्लै हुन्छ त्यसैले त्यसको आफ्नो छुट्टै पहिचान हुन्छ। यस कारण एउटा सक्कली वस्तुको स्वामित्व भएको व्यक्तिले एउटा टोकन पाउँछ। त्यस टोकन मार्फत तपाइले वस्तुको स्वामित्व आफूसँग छ भनी प्रमाणित गर्न सक्नुहुन्छ।
कसरी काम गर्छ त NFT को प्रविधि?
NFT हरू अनलाइन खरिद र बिक्री गरिन्छ। यसको लागि यसको सबै लेनदेन ब्लकचेन प्रविधिबाट गरिन्छ। जसरी क्रिप्टोकरेन्सीको सबै लेनदेन हिसाब राख्न ब्लकचेन प्रयोग गरेर ब्लक-ब्लकमा राखिन्छ, त्यसरी नै कुनै पनि भौतिक वा डिजिटल वस्तुको स्वामित्वको जानकारी पनि ब्लकमा राखेर ब्लकचेनको माध्यमबाट सुरक्षित राखिन्छ।
यसले ब्लकचेन तरिकाले सबैको स्वामित्वको जानकारी ब्लक-ब्लक गरेर लामो चेन जस्तोमा राख्ने गर्दछ। यसले गर्दा त्यहाँको सबै पहिलेका लेनदेन पनि सबैले देख्न पाउने हुन्छ। तपाइले आफुले चाहेको जानकारी सबै त्यहि ब्लकचेनमै भेट्नु हुन्छ। यसरी सबै हिसाब अनि स्वामित्व कसैबाट नलुक्ने हुँदा यो एकदमै पारदर्शी पनि हुन जान्छ।
NFT डिजिटल संसारको लागि अहिले आएर सफलता बनेको हो किनकि यसले जसलाई पनि उनीहरूको स्वामित्व प्रमाणित गर्न अनुमति दिन्छ। अहिले तपाइँले कुनै वासिङ मेसिन खरिद गर्दा त्यो सँगै आउने कार्डमा तपाइको नाम र जानकारी राखेर त्यसलाई तपाईँलाई सुम्पिएको हुन्छ। त्यस्तै NFT ले कुनै पनि वस्तुको स्वामित्वको जानकारी राख्ने हुँदा प्रमाणिकताको प्रमाणपत्र जस्तै हुन्छ। तपाईँले आफ्नो कम्प्युटरमा कुनै पनि चित्रलाई दायाँ-क्लिक गर्न र सेभ गर्न सक्नुहुन्छ। तर त्यो चित्रको सक्कली रुप तपाईसँग नै छ भनेर केवल NFT द्वारा प्रमाण गर्न सकिन्छ।
यसरि सबै संसार नै डिजिटल भएको बेला आफ्नो वस्तु सक्कली हो वा आफुले किनेको वस्तु नै सक्कली हो भनि प्रमाणित गर्न NFT ले ठुलो भूमिका खेल्छ। यसबाट कलाकारहरुले आफ्नो कलाको स्वामित्व कोहि अरुलाई दिएर त्यसबाट कमाउन सक्छन् भने कला प्रेमीले आफ्नो रुचिको सामान र वस्तुहरु आफ्नो स्वामित्वमा राख्न सक्ने छन्।