३१ साउन, एजेन्सी। भारतमा भिएलसी मिडिया प्लेयरमाथि प्रतिबन्ध लगाइएको छ। सरकारले भिएलसीको वेभसाइट र डाउनलोड लिंकमाथि नै प्रतिबन्ध लगाएको हो।
धेरै रिपोर्टहरूले यो प्रतिबन्ध भारत सरकारको नयाँ कार्य नभएको बताएका छन्। यो प्रतिबन्ध करीब ६ महिना अघिको नै निरन्तरता भएको पनि अनुमान गरिएको छ।
भिएलसी मिडिया प्लेयर डेस्कटप र अन्य धेरै प्लेटफर्महरूमा लोकप्रिय छ। डेस्कटप प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जनाले पहिलो मिडिया प्लेयरको रूपमा भिएलसी प्रयोग गर्ने गरेको पाइएको छ।
विभिन्न रिपोर्टका अनुसार यो प्रतिबन्ध यसअघिका ५४ चिनियाँ-एप निषेधको परिणाम हो। जुन यस वर्षको सुरुमा गरिएको थियो। तर मन्त्रालयले कुनै आधिकारिक बयान जारी भने गरेको छैन।
प्रतिबन्ध गरिएता पनि प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न उपलब्ध छ। अहिले नै मोबाइलका लागि भिएलसीमाथि प्रतिबन्ध नगरिएको पनि बताइएको छ।