८ भदाै, काठमाडाैँ । कोरियाको कम्पनी सामसुङका टिभी आगामी वर्षदेखि नेपालमै उत्पादन हुने भएको छ।
नेपाली व्यापार समूह गोल्छा अर्गनाइजेसनअन्तर्गत कोरियाली बहुराष्ट्रिय कम्पनी सामसुङ इलेक्ट्रोनिक्स र हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा टिभी नेपालमा उत्पादन हुने भएको हो।
नवलपरासीको भुमेमा निर्माण हुन लागेको सामसुङ टिभी निर्माण कारखानाको बुधबार दुवै कम्पनीले शिलान्यास गरेका छन्।
नवलपरासीमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले कारखानाको शिलान्यास गरेका हुन्।
गोल्छा अर्गनाइजेसनका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छाले सन् २०२३ मा ५० करोडको लगानीमा कारखाना सञ्चालनमा ल्याइने बताएका छन्।
कारखानाको क्षमता दैनिक एक हजार टिभी उत्पादन गर्ने हुनेछ। नेपाली कारखानाले ८५ इन्चसम्मको टिभी र त्यसका प्यानल पनि उत्पादन गर्नेछ।
सामसुङ दक्षिण कोरियाको प्रविधिको निरीक्षणमा सञ्चालन हुने कारखानामा ३ सयदेखि ५ सय महिलाले रोजगारी पाउने अध्यक्ष गोल्छाले बताएका छन्।