१० भदाै, काठमाडाैँ । कोरोना भाइरसको फैलावटसँगै विश्वभरका सबै संस्थाहरूले आफ्नो काम रिमोट वर्किङमा सारे। यस कारण सबै जना जोडिनको लागि भिडियो कन्फरेन्स प्लेटफर्मको आवश्यकता पर्न गयो। त्यही समयमा सबैको फोन ल्यापटपमा भिडियो कन्फरेन्स प्लेटफर्महरु देखिन लागे।
भिडियो कन्फरेन्स प्लेटफर्मको आवश्यकता
कुनै पढाइको क्लास होस् वा साथी भाइसँगको सानो गफगाफ होस्, सबै अनलाइन भिडियो मै जोडिन लागे। स्कुलको क्लास होस् वा कामको मिटिङ, सबै तिर भिडियो कन्फरेन्स प्लेटफर्मको आवश्यकता बढ्दै गयो।
यस्तो समयमा जुमसंगै गुगल मिट पनि उत्तिकै चर्चामा चढ्यो। त्यस पश्चात् सबै वातावरण सामान्य भए पछि पनि यी प्लेटफर्मको माग उस्तै नै रहिरह्यो। त्यस कारण पनि अहिलेसम्म जुम र गुगल मिटको आवश्यकता र चर्चा उस्तै छ।
दुवै एकदम फरक खालका प्लेटफर्म भएको हुँदा तपाइको आवश्यकता अनुसार नै जुन मिल्न जान्छ त्यही प्रयोग गर्नु उचित हुन्छ।
गुगल मिट र जुम आज बजारमा सबैभन्दा लोकप्रिय भिडियो कन्फरेन्सिंग प्लेटफर्महरू मध्ये हुन्। तर ती मध्ये एक छनौट गर्नु एक कठिन निर्णय हुन सक्छ। त्यस कारण आज हामी यी दुई का आफ्नै विशेषताहरू चर्चा गर्नेछौँ।
गुगल मिटका विशेषता
यसको मुख्य फाइदामा गुगल एकाउन्ट भएका जसले पनि गुगल मिटमा भाग लिन वा आफ्नै मिट गर्न सक्छन्। १०० जना सम्म सहभागीहरू यसमा निःशुल्क कलमा सामेल हुन सक्दछन्।
यसको नि: शुल्क योजनाले ६० मिनेटको मिटको अनुमति दिन्छ। यो वेबमा उपलब्ध छिटो, सजिलो भिडियो-कलिङ सेवा हो। यसलाई प्रयोग गर्नका लागि एप डाउनलोड वा इन्स्टल गरी रहनु पर्दैन।
यसलाई प्रयोग गर्न एकदम सहज छ। तपाईँ केवल गुगल मिट वेबसाइटमा जान सक्नु हुन्छ र तपाईँको गुगल खाताको साथ साइन इन गर्न मिल्छ। एक क्लिकको साथ तपाईँले भिडियो कल सुरु गर्न सक्नु हुनेछ।
यदि तपाईँहरू सहकर्मी वा साथीहरूसँगको भेटमा तुरुन्तै जान चाहनु हुन्छ भने गुगल मिट प्रयोग गर्न सक्नुहुन्छ।
कसैको लागि जुमको ४० मिनेटको कल लिमिट निकै प्रतिबन्धात्मक हुन सक्छ । गुगल मिटले दिने ६० मिनेटको समय सीमा धेरै राम्रो हुन्छ किनकि धेरै बैठकहरू, कक्षाहरू, वा कार्यक्रमहरू लामो समयसम्म रहन्छन्।
जी सुइटका फाइदा
यदि तपाईँ जी सुइट ग्राहक हुनुहुन्छ भने तपाईँले अझै धेरै सुविधाहरू पाउनु हुनेछ। यसमा जोडिने हरेक प्रयोगकर्ताले प्रति महिना ६ डलर शुल्क तिर्नुपर्नेछ।
बैठकहरू रेकर्ड गर्न मिल्ने, १००,००० दर्शकहरूको लागि लाइभ स्ट्रिमिङ र २५० कल सहभागीहरूसम्मको सुविधा तपाइले थोरै पैसा तिरेर मजा उठाउन सक्नु हुनेछ।
जुमका विशेषता
जुमले कोरोनाभाइरस महामारीको समयमा व्यावसायिक र निजी दुवै क्षेत्रमा ठुलो भूमिका खेलेको थियो। जुम एउटा ठुलो स्केलको भिडियो-कलिङ सेवा हो। यसको नि: शुल्क एपमा धेरै सुविधा पाइन्छ।
नि: शुल्क योजनाबाट तपाइले १०० सहभागीहरूलाई कल गर्न र अन्य सुविधाहरू प्रयोग गर्न सक्नु हुन्छ। बैठक समय भने केवल ४० मिनेटमा सीमित छ।
नि: शुल्क योजनामा तपाइले कल रेकर्ड गर्न सक्नुहुन्छ, सहभागीहरूलाई म्यूट गर्न मिल्छ, च्याट गर्न, कागजातहरू सबै बिच सेयर गर्नु, स्क्रिन सबैले सेयर गर्न, HD भिडियो कलहरू गर्न, ह्वाइटबोर्ड, भर्चुअल ब्याकग्राउण्ड प्रयोग गर्न र इमोजीहरू पठाउन सक्नु हुन्छ।
यसले दिने अनेक विशेषताले गर्दा पनि यो अझै धेरै प्रचलित छ।
जुम प्रोको फाइदा
यदि तपाईँ जुम प्रोको ग्राहक हुनुहुन्छ ( भने तपाईँले अझै धेरै सुविधाहरू पाउनु हुनेछ। जुम प्रोको प्रयोगकर्ताले प्रनि महिना १४.९९ डलर शुल्क तिर्नु पर्नेछ।
त्यसबाट तपाइले २४ घण्टा लामो मिटिङ गर्न सक्नु हुनेछ। यस्तै अन्य क्लाउड स्टोरेजका सुविधाहरू पनि उपलब्ध हुनेछन्।