११ भदाै, अछाम। अछाम प्रहरीद्वारा ११ वर्षीय बालक सम्मानित भएका छन्। बुहारीले सासुमाथि कुटपिट गरेको भिडियो खिचेर बाहिर ल्याएपछि प्रहरीद्वारा उनि सम्मानित भएका हुन्।
पञ्चदेवल विनायक नगरपालिका– ६ की ५३ वर्षीया जैसरा न्यौपानेमाथि बुहारीले कुटपिट गरेको भिडियो खिचेर उनले घटना बाहिर ल्याएका थिए। ११ वर्षीय नातीका कारण घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरिसकेको छ।
अछाम प्रहरीले ती बालकले खिचेको भिडियोका कारण पारिवारिक हिंसाका दोषीलाई कानुनी दायरामा उभ्याउने काममा ठूलो सहयोग पुगेको छ। यसका लागि उनी सम्मानको पात्र भएको पनि प्रहरीको ठम्याइ छ।
शुक्रबार सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले उनलाई फूलमाला, दोसल्ला र सम्मान पत्र दिँदै सम्मान गरेका हुन्।
बुधबार उनले आफ्नै आमा देवसरा न्यौपानेले ५३ वर्षीया जैसरा न्यौपानेमाथि कुटपिट गरेको भिडियो खिचेका थिए। जैसरालाई कोठाभित्र थुनेर कुटपिट गरिरहेको भिडियो उनले लुकेर बनाएका थिए।
उक्त भिडियोकै आधारमा प्रहरीले यस हिँसामा संलग्न २ जनालाई पक्राउ गरिसकेको छ। दुवै जनाविरुद्ध अमानवीय व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अदालतबाट ३ दिन म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।