११ भदाै, एजेन्सी। ट्विटर र मेटाले आफ्नो प्लेटफर्मबाट विदेशमा अमेरिकी चासोलाई बढावा दिनको लागि अनलाइन प्रचार अभियान हटाएको छ। अनुसन्धानकर्ताहरूले ट्विटर र मेटाको पछिल्लो कदमबारे खुलासा गरेको बिबिसीमा उल्लेख छ।
सोशल मिडिया एनालिटिक्स फर्म ग्राफिका र स्ट्यानफोर्ड इन्टरनेट अब्जर्भेटरी (एसआईओ) को एक रिपोर्ट अनुसार टेक जायन्टहरूले हटाएको यो नै पहिलो गोप्य प्रो-अमेरिकी प्रचार अभियान हो।
यस अभियानमा लागेका ठूलो संख्यामा अकाउन्टहरू ट्विटर र मेटाले जुलाइ र अगस्टमा नै बन्द गरिदिएको बताइएको छ। प्रचारप्रसारको पछाडि कसको हात छ भन्ने खुलेको छैन।
अनुसन्धानकर्ताहरूले ट्विटरले अमेरिका र बेलायतलाई यस प्रचारप्रसारको मूल देशहरू भनेर पहिचान गरेको बताएका छन्। तर, फेसबुक र इन्स्टाग्रामको स्वामित्वमा रहेको मेटाले अमेरिकालाई यस प्रचारको मूल देश भनेको छ।