१८ भदाै, एजेन्सी। क्रिप्टो डटकम युइएफा च्याम्पियन्स लिगको स्पोन्सरसिपको सम्झाैताबाट पछि हटेको छ। लगभग निश्चित भइसकेको सम्झाैता अन्तिम समयमा आएर रद्द भएको हो।
पछिल्लो समय विश्वकभर क्रिप्टोकरेन्सीमाथिका नियमहरूमा कडाइ हुन थालेपछि क्रिप्टो डटकम पछि हटेको बिबिसीमा उल्लेख गरिएको छ।
च्याम्पियन्स लिग र क्रिप्टो डटकमबिच पाँच वर्षे स्पोन्सरसिपमा करीब ४३ करोड पाउन्डको सम्झाैता हुने भएको थियो।
क्रिप्टो डटकमले ग्याजप्रोमलाई प्रतिस्थापन गर्ने तयारी गरेको थियो। ग्याजप्रोम रसियन उर्जा प्रदायक कम्पनि हो। युक्रेनमा रूसले गरेको आक्रमणपछि च्याम्पियन्स लिगले ग्याजप्रोमको सम्झाैता खारेज गरेको छ।
सम्भावित कानुनी व्यापार प्रतिबन्धहरूसँग सम्बन्धित भएका कारण अन्तिम चरणमा पुगेको सम्झाैता रद्द भएको बताइएको छ।
पछिल्लो समय डिजिटल करेन्सी तथा एसेस्टहरू फुटबलमा स्पोन्सरसिप गर्न लागिरहेका छन्। धेरै क्रिप्टो तथा क्रिप्टो एक्सचेन्जहरू युरोपका ठूला फुटबल क्लबमा मुख्य स्पोन्सरको रूपमा रहेका छन्।
इंगल्याण्डको चेल्सी र स्पेनको एट्लेटिको मड्रिडले क्रिप्टो ट्रेडिङ प्लेटफर्म ह्वेलफिन र म्यानचेस्टर सिटीले ओकेएक्ससँग स्पोन्सरसिपको सम्झाैता गरेका छन्।