१९ भदाै, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले इस्पोर्टका लागि छुट्याएको १ करोड बजेटबारे प्रष्टिकरण दिएका छन्।
आइतबार उनले कार्यकालका सुरूवाती १०० दिनमा गरेका कामहरूको विवरण सार्वजनिक गर्दै उनले इस्पोर्टको बजेटबारे प्रष्ट्याएका हुन्।
उनले इस्पोर्टस खेलका रुपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको विषय बन्दै गएका कारण परिवर्तनलाई आत्मसाथ गर्ने इस्पोर्टका लागि बजेट विनियोजन गरेको बताएका हुन्।
‘गीत गाउने, नाच्ने जस्ता कलाकारहरु प्रति केहि पहिलेसम्म समाज अनुदार नै थियो । त्यसमा पनि महिला कलाकारहरुका लागि त सम्मान भन्दा पनि अफ्ठ्यारा बढि थिए । तर अहिले अवस्था फेरिएको छ । यतिसम्म कि यी सम्बन्धित रियालिटी सोहरुमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ । यो हामीले देख्दादेख्दै भएको परिवर्तन हो । त्यस्तै परिवर्तन खेल क्षेत्रमा पनि भइरहेको छ । इस्पोर्टस पनि खेलका रुपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको विषय बन्दैछ । त्यसमा हामी तयार हुने कि नहुने ? त्यो परिवर्तनलाई आत्मसाथ गर्ने कि नगर्ने ? यो प्रश्न प्रमुख थियो । हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्यायौँ । बजेट छुट्याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरुले बुझ्दै गए पछि आएका प्रतिक्रियाहरु फरक पर्न थाले । इस्पोर्टसमा हामीले चाहे जस्तै कार्यक्रम भए पछि हामीले बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुन सक्ला । त्यो दिन पर्खौँ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
मेयर बालेनले इस्पोर्टसका लागि २ करोड बजेट विनियोजन गरेपछि उनको आलोचना भएको थियो।