२१ भदाै, एजेन्सी। फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन प्रयोगकर्ताहरूले शुल्क तिर्नु पर्ने भएको छ। मेटाले आफ्ना प्लेटफर्महरूमा शुल्क तिरेर मात्रै चलाउन पाउने केही फिचरहरू ल्याउन लागेको हो।
सोसल मिडिया कम्पनी मेटाले नयाँ फ्रेमवर्क निर्माण गरिरहेको छ जसले फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपमा सशुल्क फिचरहरू ल्याउने अन्तरराष्ट्रिय मिडियाहरूले उल्लेख गरिरहेका छन्। यस कार्यको नेतृत्व प्रति रोय चौधरीले गर्नेछन्, जो यसअघि मेटाको अनुसन्धान विभागको प्रमुख थिए।
ट्विटर र स्न्यापच्याट जस्ता सोशल मिडिया प्लेटफर्महरूमा पहिले नै सशुल्क सेवाहरू उपलब्ध गराइरहेका छन् छन्। ट्विटरको सशुल्क संस्करणलाई ट्विटर ब्लू भनिन्छ। त्यस्तै, स्न्यापच्याटले पनि स्न्यापच्याट प्लसमार्फत निश्चित शुल्क लिएर प्रिमियम फिचरहरू दिइरहेको छ।
ट्विटर ब्लू र स्न्यापच्याट प्लस प्रयोगकर्ताहरूले सामान्य प्रयोगकर्ताहरूको तुलनामा विभिन्न नयाँ र विशेष सुविधाहरू प्रयोग गर्न पाउँछन्। ट्विटर ब्लूका प्रयोगकर्ताहरूले अब चाँडै नै इडिट बटन फिचर पाउनेछन्।
द भर्जका अनुसार मेटाले न्यु मोनिटाइजेशन एक्सपिरियन्स नामक नयाँ विभाग स्थापना गर्दैछ। यो विभागले फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपका लागि सशुल्क सुविधाहरूको विकासमा ध्यान दिनेछ।
तर, फेसबुकको प्रिमियम भर्सनको हल्ला चलेको यो पहिलो पटक भने होइन। यसभन्दा अघि पनि फेसबुकले प्रयोगकर्ताहरूसँग शुल्क लिनेबारे धेरै चर्चा चलिसकेका छन्।