२८ भदाै, एजेन्सी। एप्पलले आइफोन १४ सार्वजनिक गरेको एक हप्ता हुनै लागेको छ। सार्वजनिक भएको दिनदेखि नै उक्त फोनका युनिक फिचरहरूको बारेमा चर्चा भइराखेको छ।
एप्पलले आइफोन १४ अरूभन्दा फरक बनाउन केही नयाँ फिचरहरू थपेको छ। मोडलमा केही परिवर्तन नभएता पनि फिचरहरूले आइफोन १३ र आइफोन १४ को फरक छुट्याएको छ।
एप्पलले आइफोन १४ मा ल्याएको मध्ये सबैभन्दा बढी चर्चा पाएको फिचर ‘डाइनामिक आइल्याण्ड नच’ हो। यसभन्दा अघि यो फिचरको बारेमा चर्चा समेत थिएन।
तर, आइफोन १४ सार्वजनिक भएको एक हप्ता नबित्दै एन्ड्रोइडले ‘डाइनामिक आइल्याण्ड नच’ फिचर चोरेको छ। चिनियाँ डेभलपरले एन्ड्रोइडमा एप्पलको जस्तै ‘डाइनामिक आइल्याण्ड नच’ राखिदिएका हुन्।
तर, एन्ड्रोइड र आइफोन १४ को उक्त फिचरमा भने सामान्य फरक देखिएको छ। आइफोन १४ मा डाइनामिक आइल्याण्ड फोनको माथिल्लो भागको बिचमा देखिन्छ भने एन्ड्रोइडमा भने माथिल्लो भागको बायाँ तर्फ राखिएको छ।
आइतबार वैभव जैन नामक एक प्रयोगकर्ताद्वारा एक ट्वीट मार्फत एन्ड्रोइड फोनमा राखिएको उक्त फिचर सार्वजनिक गरेका छन्। ट्विटरमा सार्वजनिक उक्त भिडियो चिनियाँ स्रोतबाट रेकर्ड गरिएको देखिएको छ।
कुन एन्ड्रोइड फोनमा यो फिचर राखिएको छ भन्ने प्रस्ट नभएता पनि कतिपयले चिनियाँ कम्पनी एमआइले यो फिचर कपि गरिदिएको अनुमान गरेका छन्। यद्यपी, यस आरोप पुष्टि हुने केही प्रमाणहरू भने देखिएका छैनन्।
Dynamic Island Style Notifications / Now Playing on Xiaomi MIUI. Mi Theme Developers never disappoint 😎 pic.twitter.com/ImHmbkRZnb
— Vaibhav Jain (@vvaiibhav) September 11, 2022