२८ भदाै, एजेन्सी। अमेरिकी टेक कम्पनी एप्पलले आइओएस १६ अपरेटिङ सिस्टम सार्वजनिक गरेको छ। नयाँ लक स्क्रिन, आइम्यासेजमा थपिएको फिचर र नयाँ विजेटसहित यो अपरेटिङ सिस्टम सार्वजनिक भएको हो।
द भर्जका अनुसार आईप्याडओएस अहिलेको १६ अपरेटिङ सिस्टममा नहुने बताइएको छ। आईप्याडका लागि एप्पलले आईप्याडओएस १६.१ जारी गर्ने बताएको छ।
आइओएस १६ मा लक स्क्रिनमा सबैभन्दा धेरै सुधार भएको छ। अब एप्पल प्रयोगकर्ताहरूले लक स्क्रिनमा विजेटहरू थप गर्न सक्नेछन्। यी विजेटहरू आइफोन १४ मा डिभाइस लक भएको समयमा पनि देख्न सकिनेछ। विजेटहरूमा नोटिफिकेशन देखिने पनि बताइएको छ।
आइओएस १६ मा भएको अर्को सुधार आइम्यासेजमा गरिएको छ। अब प्रयोगकर्ताहरूले म्यासेज पठाएको १५ मिनेटसम्म उक्त म्यासेज रद्द गर्न सक्नेछन्।
आइओएस १६मा क्यामेरा, लक स्क्रिन विजेट र आईफोनबाट एप्पल वाच कन्ट्रोल गर्न सक्ने फिचरका साथ पुनः डिजाइन गरिएको होम एप पनि राखिएको छ। त्यसैगरी, आइफोन प्रयोगकर्ताहरूले भिडियोबाट नै शब्दहरू कपि गर्न समेत सक्नेछन्।
गोपनियतालाई ध्यानमा राख्दै आइओएस १६ लकडाउन मोड समेत राखिएको छ।