३१ भदाै, काठमाडाैँ। आज नेपालका मोबाइल व्यापारीहरूले पसलमा दिपावली गर्ने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको उपलक्ष्यमा खुसियाली स्वरूप दिपावली गर्न लागिएको हो।
नेपालमा अवैधानिक रूपमा मोबाइल फोन भित्रनबाट रोक्न प्राधिकरणले बिहीबारदेखि एमडीएमएस लागु गरेको छ।
उक्त कार्यक्रममा बोल्दै मोबाइल आयातकर्ता सङ्घका अध्यक्ष दीपक मल्होत्राले ‘आजको दिन सम्पूर्ण डिस्ट्रिब्युटर र ५० हजार मोबाइल व्यवसायी सम्पूर्ण मोबाइल पसलमा दीपावली गरेर मनाउँछौँ ।’ भनेका थिए।
उनले सोही कार्यक्रममा नेपालमा ५० प्रतिशतभन्दा बढी मोबाइल गैरकानूनी तवरमा भित्रिने बताउँदै भने, ‘मोबाइल विलासिताको वस्तु होइन, त्यसैले यसको आयात खुला गर्नुपर्छ। सन् २०२१ मा कूल ५५ अर्ब रुपैयाँका मोबाइल भित्रिएकोमा १७ अर्ब रुपैयाँका मोबाइल गैरकानूनी रूपमा आयात भएका थिए । मोबाइल आयात प्रतिबन्धले यस वर्ष २७ अर्ब रुपैयाँको मोबाइल आयात मात्र कानूनी हुने देखिन्छ र २८ अर्ब गैरकानूनी हुने अवस्था छ ।’