१ असोज, एजेन्सी। दक्षिण कोरियाको अदालतले एक क्रिप्टोकरेन्सीका संस्थापक विरूद्ध पक्राउ पुर्जि जारी गरेको छ। टेरा लुना र टेरा युएिडीका संस्थापक डो क्वोनविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।
यस वर्षको सुरूमा नै उक्त क्रिप्टोकरेन्सीको मूल्य अप्रत्यशित रूपमा खस्किएको थियो। जसका कारण लाखाै लगानीकर्ताहरूको ठूलो धनराशी डुबेको छ।
सिङ्गापुरमा दर्ता भएको टेराफर्म ल्याब्सले पूँजी बजार नियम उल्लङ्घन गरेको अभियोजकहरूको विश्वास छ।
मे महिनामा टेराको मूल्यमा ९९ प्रतिशत गिरावट आएको थियो। जसका कारण लुनाकै भगिनी टोकन पनि व्यापक रूपमा घटेको थियो।
दक्षिण कोरियाको अभियोजकको कार्यालयका प्रवक्ताले भने अनुसार क्वोन र यस मुद्दामा संलग्न अन्य पाँच व्यक्तिलाई पक्राउ पुर्जी जारी गरिएको छ। तर, उनीहरूको नाम भने खुलाइएको छैन।
मिडिया रिपोर्टका अनुसार क्वोन सिंगापुरमा बसिरहेको अनुमान गरिएको छ।